जोमसोम जोड्ने झोलुङे पुल जीर्ण

२०७३ बैशाख १९ गते, आईतवार

काठमाडौ, १९ बैशाख । मुस्ताङ सदरमुकाम जोमसोमलाई जोड्न कालीगण्डकीमाथि निर्मित काठे झोलुङे पुल जीर्ण भएको छ । जोमसोम बजारसहित उपल्लो क्षेत्रलाई जोड्ने एकमात्र पुल जीर्ण भएपछि सर्वसाधारणलाई आवतजावत गर्न समस्या उत्पन्न भएको छ । पुलमा जडान गरिएको काठ भाँच्चिएका छन् भने केही कुहिन थालेका छन् । कालीगण्डकीमा पक्की पुल निर्माणकार्य जारी रहेका कारण वर्षौंदेखि जोमसोमवासी र उपल्लो मुस्ताङका सर्वसाधारण यही पुलमार्फत आफ्नो गन्तव्यमा पुग्दै आएका छन् ।
भूकम्प र नाकाबन्दीपछि पर्यटकको चाप पनि बढ्दै गएको छ । दैनिक पाँच हजार सर्वसाधारण आवतजावत गर्ने पुल जीर्ण बन्दा समस्या उत्पन्न भएको मुस्ताङका स्थानीयवासी चन्द्रबहादुर थकालीले बताए । गतवर्षको भूकम्पका कारण जीर्ण बनेको पुल जिल्ला विकास समिति र स्थानीयवासीको पहलमा मर्मतपछि सञ्चालनमा ल्याइएको थियो ।
“करिब ७० वर्ष पुरानो मानिने पुल अहिले जीर्ण बनेको छ, काठहरु फेर्नुपर्ने देखिएको छ”, उनले भने – “जिविसको यसमा ध्यान जान जरुरी छ, स्थानीयवासी पनि योगदान गर्न तयार छन् ।” स्थानीयवासीका अनुसार, पुल मर्मत गर्न रु ५० देखि रु एक लाख भए पुग्ने बताइएको छ ।

प्रतिक्रियाहरु