जेएनयूमा अन्धाधुन्ध हमला- कैयौँ विद्यार्थी घाइते ।

२०७६ पुष २१ गते, सोमबार

काठमाडौं , २१ पुष । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा नकाबधारीहरुले अन्धाधुन्ध आक्रमण गरेका छन् । हातहातमा लाठी, भाला, मुंग्री बोकेर छात्रावासका कोठा–कोठामा छिरेर नकावधारीहरुले विद्यार्थीमाथि सांघातिक आक्रमण गरेका छन् । जेएनयु छात्र संघका अध्यक्षमाथि समेत हमला भएको भारतीय समाचारमाध्यमहरुले जनाएका छन् । करिब ५० जना भन्दा बढी नकाबधारीहरु उक्त विश्वविद्यालयको छात्रावासमा छिरेका थिए । उनीहरुले अन्धाधुन्ध आक्रमण गरेपछि कैयौँ विद्यार्थी घाइते भएका छन् । घाइते भएका विद्यार्थीहरुलाई सातवटा एम्बुलेन्सबाट लगातार अस्पताल पठाउनुपरेको बताइएको छ । घाइतेहरुलाई अहिले एम्स ट्रमा सेन्टरमा राखेर भइरहेको छ ।
बिबिसी हिन्दीका अनुसार आक्रमणपछि जेएनयुको प्रवेशद्वारमा ठूलो संख्यामा प्रहरी तैनाथ गरएको छ । उता दिल्ली प्रहरीको मुख्यालयबाहिर यो हमलाको विरुद्धमा प्रदर्शन गर्दै सुरक्षा तथा उपचारको माग गरिएको छ । घाइते भएका शिक्षक र विद्यार्थीहरुलाई तत्काल चिकित्सकीय सहायता दिन र हमलाकारीहरुलाई गिरफ्तार गर्न उनीहरुले माग राखेका छन् ।
यसैबीच, जेएनयू प्रशासनले जवाहरलाल नेहरू विश्वविद्यालय परिसरमा भएको हिंसाको निन्दा गरेको छ । प्रशासनका अनुसार वामपन्थी आन्दोलनको गढ मानिने जेएनयुमा भारतीय सत्ताधारी दल भाजपाका कार्यकर्ताले आक्रमण गरेको हुनसक्ने आँकलन गरिएको छ । तर भारतीय मन्त्रीमण्डलमा रहेका मन्त्रीहरुले ट्वीटरमा यो हमलाको विरोध गरिरहेका छन् । जेएनयू रजिस्ट्रारले हिंसा कसरी भयो भन्ने बारेमा एक विज्ञप्ति जारी गरेको छ । जसअनुसार विश्वविद्यालयको शीतकालीन सत्र १ जनवरी २०२० बाट सुरु भयो, जसपछि विद्यार्थीहरूको रजिस्ट्रेशन (दर्ता) कार्य भइरहेको थियो । तर जनवरी ३ मा, दर्ता प्रक्रियाका विरोध गर्ने समूहले सञ्चार र सूचना सेवाहरूको परिसरमा घुसेर इन्टरनेट सर्भर काम नलाग्ने बनाइदिए । ती विद्यार्थीहरूको पहिचान गरेर पुलिसमा केस गरिएको थियो ।
यसपछि, जनवरी ४ मा रजिस्ट्रेसन प्रक्रिया फेरि सुरु गरियो, तर यसको विरोधमा पनि विद्यार्थीहरुको समूहले इन्टरनेटको साथसाथै बिजुलीको आपूर्ति पनि बन्द गरिदियो । आन्दोलनरत विद्यार्थी समूहले केही विद्यालयहरूको भवनसमेत बन्द गरेका थिए । फेरि जनवरी ५ मा दर्ता भएका विद्यार्थीहरू विद्यालय भवनमा जाँदै थिए, जसलाई रोकियो । यसपछि, जनवरी ५ कै दिउँसो विद्यालय परिसर र होस्टल तथा क्याम्पसमा रजिस्ट्रेशनको विरोध गर्ने तथा रजिस्ट्रेसन गराइसकेका विद्यार्थीहरूबीच झगडा भयो । प्रशासनले भनेको छ, जनवरी ५ (आइतबार) कै साँझ साढे चार बजेतिर दर्ता प्रक्रियाको विरोध गर्ने विद्यार्थीहरूको समूहले दर्ता गर्ने विद्यार्थीहरुलाई कुटेका थिए । यसपछि नकाबधारी बदमाशहरू पेरियार होस्टलको कोठा कोठामा पसे र विद्यार्थीहरूमाथि अन्धाधुन्ध लाठी र भाटा, भालाले हमला गरे । समाचार एजेन्सी पीटीआईले दिल्ली पुलिसलाई उद्धृत गर्दै भनेको छ कि जेएनयू क्याम्पसमा फ्ल्याग मार्च निकालिएको छ र अवस्था नियन्त्रणमा छ ।
यसैगरी, भारतको समयमा मानव संसाधन मन्त्रालयले जेएनयू रजिस्ट्रारलाई क्याम्पसको स्थितिको बारेमा तुरुन्त रिपोर्ट गर्न आदेश दिएको छ । त्यस्तै , त्यहाँको गृह मन्त्रालयले एक घटनाको छानविन गर्न आदेश गरेको छ । गृहमन्त्री अमित शाहले जेएनयू हिंसाको बारेमा दिल्ली पुलिस कमिश्नरसँग कुराकानी गर्दै आवश्यक कारबाही गर्न निर्देशन दिएको बताएका छन् । गृहमन्त्रीले घटनाको छानबिन गर्न संयुक्त पुलिस आयुक्तको पदका अफिसरलाई आदेश दिएका छन् र यथासम्भव चाँडो रिपोर्ट पेश गर्न भनिएको छ । उता विदेशमन्त्री एस जयशंकरले पनि एक ट्वीट गर्दै भनेका छन्, ‘जेएनयूमा के भयो चित्रहरू हेरेँ, हिंसाको स्पष्ट रूपमा भर्त्सना गर्दछु । यो पूर्णतया विश्वविद्यालयको संस्कृति र परम्परा विरूद्ध हो ।’-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु