जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनांगाग्वा विजयी

२०७५ श्रावण १८ गते, शुक्रबार

काठमाडौं, १८ साउन । जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनांगाग्वा विजयी भएका छन् । जिम्बावेका निर्वाचन आयोगले राष्ट्रपतिमा मनांगाग्वा विजयी भएको घोषणा गरेको हो । गत सोमबार सम्पन्न निर्वाचनको परिणाम घोषणा गर्दै आयोगले मनांगाग्वा विजयी भएको जनाएको हो ।
१० प्रान्तको मत परिणाम जारी गर्दै आयोगले जनाएअनुसार मनांगाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी विपक्षी नेता नेलसन चमिसाले भने ४४.३ प्रतिशत मत प्राप्त गरेका छन् । मूवमेन्ट फर डेमोक्रेटिक चेन्ज ‘एमडीसी’ गठबन्धका अध्यक्ष मोर्गन कोमिचीले निर्वाचन परिणामलाई अस्वीकार गर्दै धाँधली भएको आरोप लगाएका छन् । तर, जिम्बावेको निर्वाचन आयोगले भने निर्वाचनका क्रममा कुनै धाँधली नभएको जिकिर गरेको छ ।
निर्वाचनपछि राजधानी हरारेमा फैलिएको दंगा शान्त भएको छ । राष्ट्रपति मनांगाग्वाले संकट समाधानका लागि सरकार विपक्षी नेता चमिसासँग वार्ता गरिरहेको जनाएका छन् । उनले हिंसाको मामिलामा जाँचबुझका लागि एक स्वतन्त्र आयोगको प्रस्ताव गरेका छन् । राष्ट्रपति निर्वाचनको क्रममा भएको हिंसामा ६ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए ।

यसैबीच निर्वाचनपछि सार्वजनिकरुपमा देखा परेका विपक्षी नेता चमिसाले अस्पतालमा गएर घाइतेहरुसँग भेट गरेका छन् । गत नोभेम्बरमा ९४ बर्षीय तात्कालीन राष्ट्रपति रोवर्ट मुगावेले राजीनामा दिएपछि जिम्बाब्वेमा पहिलो पटक निर्वाचन भएको हो । -एजेन्सी

प्रतिक्रियाहरु