‘ जारका पानी पिउन योग्य छैनन् ‘

२०७३ आश्विन ११ गते, मंगलवार

काठमाडौँ ११ असोज । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उपनिर्देशक डा गुणनिधि शर्माले यस पटक उपत्यकामा देखिएका अधिकांश हैजा असुरक्षित पानीका कारण भएको बताएका छ । हैजा नियन्त्रण बारेमा गुठि संस्थानद्वारा आयोजित कार्यक्रममा उनले भने ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन् । पिउन अयोग्य मात्र होइन, ती कतिपय जार र बोतलका पानीमा हैजा र झाडापखालाका किटाणु समेत भेटिएका छन् ।
काठमाडाँै, ललितपुर, भक्तपुर र धादिङ जिल्लामा असार, साउन र भदौमा यस पटक एक सय ४५ जनामा हैजाको किटाणु भेटिएको थियो । तीमध्ये २४ प्रतिशत विद्यालयका बालबालिका थिए । सबैभन्दा बढी निर्माण कामदारमा हैजा देखिएको डा शर्माले जानकारी दिए ।
अहिले उपत्यकाको जनसङ्ख्या ४० लाखको हारहारीमा पुगिसकेको बताइन्छ । “खानेकुरा र सरसफाइभन्दा पानीकै कारण उपत्यकामा हैजाका बिरामी भेटियो । हैजाका बिरामीमध्ये अधिकांशले धाराको पानी र जारका पानी सिधै पिउनाले हैजाबाट सङ्क्रमित भए ”उनले भने ।
डा शर्माले कम्पनीले पिउनयोग्य भनी सिलछाप गरेका जार र बोतलका पानीको परीक्षण गर्दा ५० प्रतिशत जारका पानी पिउन अयोग्य भटिएको जानकारी दिए । पानी उपभोक्ताले प्रयोग गर्नुपूर्व स्वयम् पानी उत्पादन गर्ने कं, गुणनियन्त्रण विभाग र स्वास्थ्य सेवा विभागले गुणस्तरका बारेमा परीक्षण गर्नुपर्ने प्रावधान रहिआएको छ ।
यस पटक उपत्यकाभित्र काठमाडौँको बाफल क्षेत्रमा सर्वप्रथम हैजाको सङ्क्रमण देखिएको थियो । यसपछि काठमाडाँैका डल्लु, सामाखुसी, डाँछी, त्रिपुरेश्वर, सुनधारा, थानकोट तथा ललितपुरका गोदावरी, लगनखेल, बालकुमारी थैव, ठेचो, भैँसेपाटी र धापाखेलमा यसका बिरामी भेटिएको थियो ।
कार्यक्रममा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका गुणस्तर शाखाका प्रमुख ज्ञानेन्द्र कार्कीले ट्यांकरका तुलनामा जारको पानीको गुणस्तर हुने भए पनि सिधै पिउन योग्य नहुने बताए । उनले पानी व्यवसायीले बोतलको पानीमा जस्तै जारको पानीको गुणस्तरमा ध्यान दिन आग्रह समेत गरे ।
खानेपानी तथा ढल निकास विभागका पानी गुणस्तर शाखाका प्रमुख नारायणप्रसाद खनालले खानेपानी सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्दै उपभोक्तालाई जलजन्य रोगका बारेमा जनचेतना जगाउन आवश्यक भएको बताए ।
विश्व स्वास्थ्य सङ्गठनमा पानीको गुणस्तरमा कार्यरत विज्ञ डा सुदन पन्थीले जारको पानी ढुक्कसित पिउन सक्ने अवस्था नरहेको आफ्नो अध्ययनले समेत पुष्टि गरेको जानकारी दिए ।
ट्यांकर व्यवसायी विष्णु दाहाल, उपेन्द्र पाठक तथा अध्यक्ष भण्डारीले पानीकै कारणै उपत्यकामा हैजाको सङ्क्रमण नदेखिएको स्पष्ट पार्दै तरकारी तथा अन्य खाद्य पदार्थका कारण हैजा देखिएको बताए । उनले ५० प्रतिशत जारका पानी पिउन अयोग्य नभएको जिकिर समेत गरे ।
गुथिका संयोजक प्रकाश अमात्यले हैजा सङ्क्रमण हुन नदिन तथा रोग नै देखा पर्न नदिन पानी व्यवसायी, सरकार तथा उपभोक्ताले एकले अर्कालाई दोषारोपण गरेर भन्दा सहकार्य गर्नु आवश्यक रहेकामा जोड दिए ।
कार्यक्रममा ललितपुरका जनस्वास्थ्य अधिकृत झलक पौडेल तथा एन्फोका कार्यकारी निर्देशक विपीन डङ्गोलले पानी शुद्धीकरणका विधि र प्रक्रियाका बारेमा सचेतनाका कार्यक्रम आवश्यक रहेकामा जोड दिए ।

प्रतिक्रियाहरु