जापानमा समुद्री आँधी, ६ जनाको मृत्यु, सयौ घाइते

२०७५ भाद्र २० गते, बुधबार

काठमाडौं , २० भदौ । जापानमा आएको २५ वर्ष यताकै शक्तिशाली समुद्री आँधीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । आँधीमा परेर १ सय ६० जनाभन्दा बढी घाइते भएका छन् । समुद्री आँधी जापानको दक्षिण क्षेत्रमा जमिनको सम्पर्कमा आएको थियो । जेबी नाम दिइएको यो आँधी १ सय ७२ किलोमिटर प्रतिघण्टाको बेगमा आएको अधिकारीहरुले जनाएका छन् । आँधीसँगै भीषण वर्षा पनि भएको थियो । आँधी प्रभावित क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान अधिकारीहरुले चेतावनी दिएका छन् । शिकोकु टापुबाट सुरु भएको आँधी जापानकै ठूलो होन्सु टापुमा पुगेर फैलिएको थियो । अधिकारीहरुले ठूला समुद्री छाल, डुवान र पहिरोको जोखिम हुनसक्ने चेतावनी दिएका छन् ।
आँधीका कारण हजारौं घरहरुमा विद्युत् आपूर्ति बन्दभएको छ र ठूलो भौतिक सम्पत्तिमा क्षति भएको छ । आँधीका कारण सयौं हवाई सेवा, रेल तथा डुंगा सेवा रद्द गरिएका छन् । ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत डुवानमा परेको छ । जापानमा सन् १९९३ मा आएको शक्तिशाली आँधीमा परेर ४८ जनाको मृत्यु भएको थियो । यो आँधी त्यसयताकै सबैभन्दा शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु