जाजरकोटको अर्थ राम्ररी बुझ नेपाली – भरत दाहाल

२०७२ बैशाख ६ गते, आईतवार

६ बर्ष अगाडि सामान्य रुघाखोकीले ४ सयभन्दा बढी आफन्तहरु गुमाएको दुर्गम भेरी–कर्णाली क्षेत्रले अहिले फेरि २४ जना सदस्यहरु गुमाएको छ । जाजरकोट जिल्ला ‘मौसमि फ्ल’ु र ‘स्वाइन फ्लु’को महामारीको त्रासदीमा आधा प्राण बाँचिरहेको छ । जिल्ला जनस्वास्थ्य जाजरकोट र स्वास्थ्य मन्त्रालयले उपचारका लागि बजेट नभएको जबाफ दिईरहेका छन् ।
‘फ्लु’को त्रासदीले मारिने नेपालीहरुको यो दर्दनाक दृष्य यस्तो बेलामा देखापरेको छ, जुनबेला मानिसहरुको स्वास्थ्यलाई पैसामा खरिखबिक्रि गर्न पाउनु पर्छ भन्दै स्वास्थ्य माफियाहरुले मच्चाएको रडाको भर्खरै मत्थर भएको र शैक्षिक माफियाहरुको लुट सुरु भएको छ । जाजरकोटी जनताको ज्यान लिईरहेको राज्यमा विधि निर्माता ‘माननिय’को स्टीकर टाँसेका जानवरहरुले यसैबेला पाकेट खर्चका लागि व्यक्तिपिच्छे रु ५ करोड रकम मागेर वितण्डा मचाईरहेका छन् । ‘लोकतन्त्र’ नामको पिशाचतन्त्रमा शासकहरुको रुघाखोकी उपचारका लागि चौबिसै घन्टा एएरबस तयार छ । तर जाजरकोटका लागि बजेट छैन ।
यो पटनामा गर्भाधान गरिएका मधेशवादीहरुको मामिला भएको भए बीरगञ्जको भारतीय महावाणिज्य दूताबासले बिहारबाट भाडाका अपराधिहरु निर्यात गरेर आजसम्म तराईमा राँको बालिसकेको हुन्थ्यो । यो धर्मान्तरणको मुद्दासंग संबन्धित भएको भए यूरापीयनहरुले प्रधानमन्त्रि र सभामुखलाई दर्जन पटक भेटेर चिन्ता जाहेर गरिसकेका हुन्थे । एमाओवादी÷संसदवादीहरुले यसलाई हतियार बनाएर फाइदा लिनसक्ने ठाउँ भएको भए आजसम्म संसदमा लाखौंका सामानहरु भाँचकुच भैसकेका हुन्थे । पद्मरत्नको मोर्चाका लागि मारिने गरीबहरु ‘बाहुन÷क्षेत्री’ हुन् । मधेशी गुटहरुका लागि उनीहरु तराइको महासामन्त महन्त ठाकुरलाई उत्पीडन गर्नेहरु हुन् । त्यसैले जाजरकोटका गरीबहरुको सहयोगका लागि कोहि बोल्न आवश्यक छैन ।
हत्याराहरुको यो खेलभित्र सामान्य कमजोरीको कुरा छैन । यो राज्यलाई जनताप्रतिको उत्तरदायित्वबाट च्युत गरेर त्यसलाई विदेशी दलाल लुटेराहरुको कुस्ती मैदान बनाउने खेल हो, जाजरकोटका लागि बजेट छैन भन्दै ५ करोड लुटका लागि भैरहेको प्रयास यसको उदाहरण हो । यो देशलाई साम्प्रदायिक रङमा रंगाएर गरीबहरुलाई शिकार बनाउने साम्राज्यवादी योजनाको हिस्सा हो, जातिवादी दलाल संगठनहरुको यसप्रतिको मौनता यसको उदाहरण हो । यो नेपाललाई माफियाहरुको कब्जामा लगेर नागरीकहरुलाई तिनीहरुबाट चुसिने पात्रका रुपमा स्थापित गर्ने षडयन्त्रको अंग हो, जाजरकोटको आवाज कसंले नसुन्नु तर माफियाहरुबाट सत्ताका सबै निकाय हल्लिनु यसको उदाहरण हो ।
लोकतन्त्र र अग्रगमनको आततायी आवरणलाई समयमैं च्यातेर फाल्न नसक्ने हो भने सबै नेपालीहरु यसैगरि मारिनु पर्नेछ । राज्य पुनर्संरचनाको जामा पहिरिएका हत्याराहरुका दाह्रा नभाँच्ने हो भने सबै नेपालीहरु तिनीहरुबाट यसैगरि च्यातिनु पर्नेछ । जाजरकोटको अर्थलाई राम्ररी बुझ नेपालीहरु ! यो रोग होइन, काल हो । ०६२ सालको १२ बुँदेको चोर बाटोबाट देश र जनतालाई मास्न पसेको यो कालले नश्ल, जातियता, धर्म, माफिया र पैसासंग मात्र नाता कायम गरेको छ । राज्य पुनर्संरचनाको बहानामा पैशाचिक व्यवहारलाई संस्थागत गरिरहेको यो काललाई लखेट्न सबै एकजुट होऊ, अन्यथा अब कसैका लागि कोहि रहने छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु