जाजरकोटका जनप्रतिनिधिलाई राजिनामा गर्न पत्र

२०७४ चैत्र ३ गते, शनिबार

काठमाडौँ, ३ चैत । नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जिल्ला जनपरिषदले जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजिनामा गर्न चेतावनीसहितको पत्र बुझाएको छ । स्थानीय जनसत्ताको रुपमा काम गरिरहेको भेरी-कर्णाली स्वायत्त प्रदेश अन्तरगत जिल्ला जनपरिद्ले जनताको समस्या भन्दापनि अाफ्नो व्यक्तिगत काममा मात्रै सिमित भएको भन्दै जिल्लाका सबै जनप्रतिनिधिलाई तत्काल राजिनामा गर्न भन्दै पत्र बुझाएको छ । जिल्ला जनपरिषद अध्यक्ष हरिचन्द्र जैसीले हस्ताक्षर गरेको पत्रमा सिंहदरवारदेखि गाउँ-टोलसम्म भष्टाचारी, कालोबजारीया राजनीति तथा सामाजिक दलाली, गुण्डागर्दी, लुटपाट, आतंक मच्चाउँने सरकारको प्राथमिकतामा रहेको बताइएको छ । जैसीले जनप्रतिनिधिहरु नै ठेकेदार र ब्यवसायी बनेकोले जनताले राज्यबाट सेवा-सुविधा पाउने भन्दा झन् प्रताडित बनाउने काम भएको बताएका छन् ।
‘मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रिय स्वाधिनता, सामाजिक सुरक्षा सहितको विकास र समृद्धिको आधार तय गर्नका लागि तपाईँले आफ्नो पदबाट राजिनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्र आग्रह गर्दछौं अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार तपाईँ आफै हुनु पर्नेछ’ पत्रमा उल्लेख छ ।
जनपरिषदले जाजरकोटका सातओटै स्थानीय तहका प्रमुखहरुलाई पत्र लेखेर राजिनामा गर्न आग्रह गरेको नेकपाका जिल्ला ईन्चार्ज प्रेम ओली ‘धमिल’ले बताए । उनले क्रमश वडास्तरका सबै जनप्रतिनिधीलाई राजिनामा गर्न लगाएर जनसरकार चलाउने गरि देशैभर अभियान थाल्ने योजना रहेको बताए । नेकपाले अहिले जनसरकार र जनअदालत स्थापना गरेर काम थालिसकेको बताउँदै अाएको छ ।
भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती, नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल, छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतारा, बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह, कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीलाई राजिनामा गर्न लिखित पत्र बुझाएका हुन् ।
जनयुद्धको क्रममा तत्कालिन नेकपा (माओवादी)ले जनसरकार संचालन गरेको झल्को दिएको भन्दै जनप्रतिनिधिहरुले सुरक्षाको माग गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु