जनस्वास्थ्यमा खेलबाड – राजेन्द्र चिमौरिया

२०७२ बैशाख ६ गते, आईतवार

जाजरकोटको पैक गाविसमा गत चैत १० गतेबाट सुरु भएको स्वाइन फ्लुको महामारीबाट दुई दर्जन नागरिकले अकालमा मृत्युवरण गरिसकेका छन् । तर, सरकारी तवरबाट उक्त महामारी रोक्न कुनै ठोस कार्य अगाडि बढाइएको देखिँदैन । सरकारी तह एकअर्को निकायलाई निर्देशन दिएरै समस्याबाट उम्कन खोजेका छन् । जनताले अकाल ज्यान गुमाइरहेका छन्, प्रधानमन्त्रीलगायत सम्बद्ध सरकारी निकाय र अधिकारीहरू बक्तव्यबाजी गरेर समय कटाइरहेका छन् । अहिले स्वाइन फ्लुको महामारी जाजरकोटको आसपासका अरु सात जिल्लामा पर्न सक्ने अध्ययनहरूले देखाइरहेको समाचारहरू आइरहेका छन् । हालै राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययनअनुसार सल्यान, रुकुम, दैलेख, सुर्खेत, कालिकोट, जुम्ला र मुगुमा संक्रमणको सम्भावना प्रबल देखिएको छ, यदि समयमै यसको रोकथाम नगर्ने हो भने स्थिति भयावह हुने निश्चित देखिन्छ । तसर्थ, सरकारले जनताको स्वास्थ्यको ख्याल गर्दै तुरुन्त उक्त स्वाइन फ्लु रोकथामको लागि तदारुकताका साथ काम थाल्नुपर्छ । एउटा निकायले अर्को निकायलाई देखाएर बक्तव्यबाजी गरेर पक्कै रोकथाम हुँदैन । त्यसकारण सम्बद्ध सम्पूर्ण सरकारी निकाय, गैरसरकारी संस्थालगायत सबैले आ–आफ्नो क्षेत्रबाट उक्त महामारीको रोकथामको लागि सक्दो सहयोग गरौँ, सरकार पनि बक्तव्यबाजी गर्न छोडेर महामारी नियन्त्रणको लागि फिल्डमै उत्रोस्, अन्यथा उक्त महामारीले बिकराल रुप लिन सक्छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु