जनस्वास्थ्यकर्मीको स्वास्थ्यशिविर, तीन हजारले लिए निःशुल्क स्वास्थ्यसेवा

२०७६ असार ९ गते, सोमबार

काठमाडौँ ,९ असार । सहिद स्मृति प्रतिष्ठान कपिलवस्तुको आयोजना कपिलवस्तुस्थित शिवगढी नपा ३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्राङ्गणमा स्वास्थ्यशिविर सम्पन्न भएको छ । उक्त शिविरमा तीन हजार भन्दा बढी सर्बसाधारणले निःशुल्क स्वास्थ्यसेवा लिएको बताइएको छ ।
हरेक कक्षाकोठामा विभिन्न वार्ड र विभागहरू बनाइएको थियो । शिविरको व्यवस्थापन नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घलेगरेको थियो ।
जनस्वास्थ्यकर्मी महासङ्घको महासचिव प्रकाश चन्दले राज्यको उपस्थिति शून्य प्रायः रहेको ठाउँमा स्वास्थ्यशिविर सञ्चालन गरेर जनतालाई थोरै भए पनि राहत महसुस गराउन खोजेको समेत बताए । उनले राज्यले गर्नुपर्ने काम जनस्वास्थ्यकर्मी महासङ्घले गरेको र यसलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।
असार ७ र ८ गते २ दिनसम्म चलेको स्वास्थ्यशिविरमा गाइनो, बालरोग, हाडजोर्नी, छाला तथा यौनरोग, नाक, कान तथा घाँटी, प्रयोगशाला लगायत विभागहरूबाट बिरामी जाँच गरिएको थियो । पहिलो दिन १ हजार ५० जना बिरामी स्वास्थ्य जाँचमा सहभागी भए भने दोस्रो दिन १५ सय भन्दा बढी बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । सर्वसाधारणले स्वास्थ्यशिविर अझ लम्ब्याउन अनुरोध गरेका थिए ।
शिविरकालागि औषधि जनस्वास्थ्यकर्मी महासङ्घले व्यवस्थापन गरेको थियो भने डाक्टर, नर्स, सीएमए, ल्याब असिस्टेन्ट लगायत विभिन्न रोगका विशेषज्ञहरूसहित ४० जनास्वास्थ्य विज्ञको समूहले शिविरमा स्वास्थ्य परीक्षण गरेको थियो । कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु, अखिल (क्रान्तिकारी) लगायतले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु