जनसांस्कृतिक महासङ्घ सडकमा

२०७५ मंसिर ३ गते, सोमबार

काठमाडौँ, ३ मंसिर । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ सडकमा उत्रने भएको छ । नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गगठन दिवसको सन्दर्भ पारेर यही मङ्सिर ८ गते काठमाडौँमा गर्न लागेको विशाल जुलुस र जनसभामा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आफ्नो सम्पूर्ण शक्ति सडकमा प्रदर्शन गर्ने निर्णय गर्दै सो कुरा जनाएको छ । महासङ्घका अध्यक्षसमेत रहेका नेकपाका केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो इन्चार्ज माइला लामाको अध्यक्षतामा सोमबार काठमाडौँमा बसेको तयारी बैठकले उक्त निर्णय गरेको हो ।
कार्यक्रममा महासङ्घको केन्द्रीय टोली सामना परिवार जनप्रदर्शनदेखि जनसभासम्म क्रान्तिकारी सांस्कृतिक कार्यक्रम लिएर अग्रमोर्चामा सहभागी हुने भएको छ ।
बैठकमा उपाध्यक्ष शोभा दुलाल, महासचिव खेम थपलिया, सचिव अशोक सुवेदी, कोषाध्यक्ष आरोह नेपाली, महासङ्घका ६ वटा आङ्गिक सङ्गठनका अध्यक्ष र संयोजकहरु, अखिल नेपाल ललितकला सङ्घका अध्यक्ष अग्निराज पौडेल ‘अराप’, अखिल नेपाल जनकलाकार सङ्घका संयोजक ढुण्डीराज अधिकारी, अखिल नेपाल चलचित्रकर्मी सङ्घका संयोजक विवेक सापकोटा, अखिल नेपाल उपयोगी कलाकर्मी सङ्घका संयोजक केशाङ लामालगायत उपस्थित थिए । बैठकमा सामना परिवारका सदस्यहरू, केन्द्रीय सदस्य र उपत्यकामा उपलब्ध सांस्कृतिक मोर्चाका सदस्यहरूसमेत उपस्थित थिए ।
महासङ्घको केन्द्रीय समितिले मङ्सिर ८ गतेको जनसभा र प्रदर्शनको पूर्वसन्ध्यामा ६ गते नै काठमाडौँमा बृहत् कविगोष्ठी आयोजना गर्ने भएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई केन्द्रमा राखेर बृहत् कविगोष्ठी आयोजना गरिएको र गोष्ठीमा सहभागिताका लागि देशभक्त, क्रान्तिकारी, प्रगतिवादी स्रष्टाहरूलाई आह्वान गरिएको महासङ्घले जनाएको छ । महासङ्घको एक आङ्गिक सङ्गठन अखिल नेपाल लेखक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन यही मङ्सिर १० गते काठमाडौँमा हुने जानकारी महासङ्घले दिएको छ ।

प्रतिक्रियाहरु