जनसभा र पछिल्लो राजनीति – अनिल शर्मा ‘विरही’

२०७५ मंसिर ८ गते, शनिबार

युवा नेता कमरेड विप्लवको नेतृत्वमा नेपाली क्रान्ति अगाडि बढ्दै गर्दा दलाल पुँजीवाद दमनमा उत्रियो । दलाल पुँजीवाद भनेको अनुत्पादक क्षेत्रमा लगानी गर्ने पुँजीवाद हो । त्यसरी त्यो परजीवि पुँजीवाद हुने गर्दछ । त्यसले साम्राज्यवादको बजारको लागि आफ्नो देशको उत्पादनलाई नष्ट गर्छ र विदेशी उत्पादनको व्यापार गरेर कमिसन खाएर बाँच्छ । २०४६ सालपछि नेपाली काँग्रेस सत्तामा पुग्यो । त्यसले रुस, चीनलगायतले अनुदानमा बनाइदिएका उद्योग बन्द गराए । विदेशी सामान आयात गरेर कमिशन खाए । साम्राज्यवादको बजार विस्तार गरिदिएको कारण सरकारमा बसिरहन आशीर्वाद प्राप्त गरे । उदाहरणका लागि भृकुटी कागज कारखाना, बाँसवारी छाला जुत्ता कारखाना बन्द गरियो । भारत, चीन, मलेसियाका सामानले बजार ढाक्यो । त्यसवापत विदेशीहरूको आशीर्वाद र कमिशन उनीहरूलाई प्राप्त भयो ।
त्यसरी दलाल पुँजीवादले राष्ट्रिय अर्थतन्त्रको हत्या ग¥यो । युवाहरूलाई अरब धकेल्यो, विश्वभरि बेच्यो । देशको अस्मिता लुट्यो । प्राकृतिक साधन–श्रोत विदेशीलाई बेच्यो । त्यसको विरुद्ध नेकपाले प्रतिरोध गर्ने निर्णय ग¥यो । एमाले र माके (तत्कालिन) समेत दलाल पुँजीवादको पाउमा लम्पसार परे । त्यसकारण नेकपाले ‘एकीकृत जनक्रान्ति’ कार्यदिशामार्फत् वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने निर्णय गरेको छ । शहर र गाउँ, वैधानिक र अवैधानिक सङ्घर्ष जारी राख्ने, मूल नेतृत्वले समेत सभा, सञ्चार, प्रकाशन, भेटघाटमार्फत् जनसम्पर्क र अन्तरक्रिया गर्ने पार्टी नीति अर्थात कार्यदिशाको दिशानिर्देश छ ।
कार्यदिशाअनुसार नेकपाले मंसिर ८ गते काठमाडाँैमा जनसभा र जुलुस प्रदर्शनको आयोजना गरेको छ । मंसिर ८ गते नेकपाले कमरेड किरण नेतृत्वको ड्यास माओवादीसँग विद्रोह गरेर क. विप्लवको नेतृत्वमा नेकपा गठन गरको थियो । र, नेपाली क्रान्तिलाई विसर्जनवाद र छद्म संशोधनवादको गोलचक्करबाट बाहिर निकाल्यौँ । त्यसयता नेपाली क्रान्ति अरबी घोडाझैँ दौडिरहेको छ । त्यसकारण मंसिर ८ गतेको जनसभा र ¥यालीका दूरगामी महत्व छ, राजनीतिक महत्व छ ।
मंसिर ८ गतेको जनसभामा नेकपाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा पार्टी धारणा सार्वजनिक गर्नेछ । दलाल सरकारको राष्ट्रघात, जनघात र भ्रष्टाचारको भण्डाफोर गर्नेछ । कार्यक्रममा प्रमुख वक्ताको रूपमा पार्टी प्रवक्ता प्रकाण्ड प्रस्तुत हुनुहुने भएको छ । नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर कमरेड चित्रबहादुर आलेले जनसभाको नेतृत्व (अध्यक्षता) गर्नुहुनेछ । कार्यक्रममा संयुक्त जनपरिषद्का उपाध्यक्ष कमरेड पदम राईको पनि महत्वपूर्ण भूमिका हुनेछ । कार्यक्रमको सञ्चालन नेकपाकी पोलिटब्युरो सदस्य, पूर्वसभासद समेत रहनुभएकी चर्चित गोरखा जेल ब्रेककी कमाण्डर क. उमा भुजेल (शिलु)ले गर्नुहुनेछ ।
जनसभामा नेताहरूले सरकारको वार्ता चर्चाबारे पार्टी धारणा सार्वजनिक गर्नेछन् । यो विषय नै सबैभन्दा बढी चासो र सरोकारको विषय छ । सरकारले वार्ताको हल्ला गरेको छ तर कोसँग, के विषयमा वार्ता गर्न खोजेको हो ? स्पष्ट छैन । त्यसैले वार्ता सरकारसँग सम्बन्धित विषय हो । नेकपाको सरोकार र उसले जवाफ दिनुपर्ने विषय होइन । जहाँसम्म नेकपाको विषय छ, सरकारले दमन अभियान चलायो, असफल भयो । त्यसपछि आफ्नो नाक जोगाउनका लागि वार्ताको नाटक गरेको हो । वार्ताको विषयमा सरकारको नियत र बुझाई नै गलत छ । त्यसकारण वार्ताबारे आफ्नो पार्टीको नीति र सरकारको वार्ता षड्यन्त्रको विषयमा पनि बोल्नेछ ।
मंसिर ८ गते नेपालका श्रमिक वर्गको लागि महान् उत्सव हो । किनकि त्यो दिन प्रचण्ड बाबुरामको भयानक धोका र कमरेड किरणको छद्म संशोधनवादको विरुद्ध झण्डा उठाएको महान् दिन हो । माकेको एमालेमा विलय र त्यसको दलाल चरित्रका कारण राजनीतिक विकल्पको खोजी भइरहेको छ । के नेपाली काँग्रेस त्यसको विकल्प हुन सक्छ ? काँग्रेस असफल भइसकेको शक्ति हो । काँग्रेस, ओली, प्रचण्ड राजनीतिक वैचारिक रूपले एउटै हो । दलाल राजनीतिक धारा हो । त्यसकारण नेकपा र वैज्ञानिक समाजवाद नै विकल्प हो । त्यसको पक्षमा लाग्न, राष्ट्रघात र जनघातको प्रतिरोध गर्न पनि नेकपाले अपिल गर्नेछ । त्यसकारण वैचारिक र समसामयिक राजनीतिको दृष्टिले पनि मंसिर ८ गतेको ऐतिहासिक महत्व छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु