जनविरोधी संविधान जारी भए लडाईँ हुन्छः प्रकाण्ड

२०७१ माघ ८ गते, बिहीबार

काठमाडौ । नेकपा माओवादीले जनविरोधी संविधान जारी भए युद्द हुने चेतावनी दिएको छ । माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले संविधान १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको भावना बमोजिम जनताको पक्षमा हुनुपर्ने भन्दै त्यसविरुद्ध भए युद्द हुने चेतावनी दिएका हुन् ।
ननस्टप अनलाइनसँगको अन्तर्वार्तामा प्रकाण्डले भनेका छन्–संविधान जनतका पक्षमा, १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको भावना बमोजिम संविधान हुनुपर्छ , यदी त्यस्तो हुन सकेन भने क्रान्तिकारीहरुले कहिले पनि आत्मसमर्पण गर्दैनन । उनीहरु लड्छन् ।
उनले परिवर्तनको मुख्य बाधक शक्ति सामन्तवाद र पुँजीवादी संसदीय प्रतिक्रियावाद भएको भन्दै त्यसको नेतृत्व कांग्रेस एमालेले गरेको समेत बताएका छन् ।विगतमा सामन्तवादको अन्त्य गर्ने तथा संसदवादीहरु बदलिएर आउने गरी सहमति भएको भन्दै उनले आफ्नै पार्टीका अगुवाहरुको नालायकीपन तथा कांग्रेस एमालेले यसलाई पूरै उल्ट्याएर उही पुरानै ठाउँमा पुर्याउने स्थिति बनेको बताए ।
उनले विगतमा भएका सहमति र सम्झौता विपरित अगाडि बढेर उपलब्धीलाई नामेट पार्दै अशान्ती मच्चाउन कांग्रेस एमालेले लागेको समेत आरोप लगाएका छन् ।उनले अगाडी भनेका छन्– त्यो अशान्ति रोक्नु जनताको निम्ति अनिवार्य हुन्छ । जनताको पार्टीले त्यसको नेतृत्व गर्नु दायित्व हुन्छ । त्यो कुरा मान्न संसदवादी तयार छैनौं भन्छन् भने हामी नयाँ ढङ्गले अगाडि बढ्छौं ।
उनले सहमति भए पनि नभए पनि संविधानसभाबाट बन्ने संविधान नेपाली जनताको पक्षमा नहुने दाबी गर्दै त्यो दलाल पुँजीपति वर्गकै हितमा हुने बताए ।
उनले अहिले संविधान सभाभित्र भइरहेको संघीयताको बहसको कुनै अर्थ नभएको समेतबताए । उनले संघीयताबारे भएको वर्गीय उत्पीडनमा परेकोको हितमा नभएको बताए ।
उनले अब माघ ८ मा संविधान नआउने पक्का भइसकेको भन्दै आफूहरुले पहिलेदेखि संविधानसभा संसदवादी दलहरुको नाटकमात्रै हो भनेर भन्दै आएको अहिले प्रष्ट भएको बताए ।
उनले समय गुजारेर ल्याइहालेपनि ‘साम्राज्यवाद, विस्तारवादद्वारा डिजाइन गरिएको नेपालका दलालहरुमार्फत नेपाल राष्ट्र र जनताको टाउकोमा जवरजस्त लाद्न खोजिएको प्रतिक्रियावादी संविधान’ हुने तर्क गर्दै त्यसलाई आफूहरुले पोलिटिकल काउन्टर गर्ने बताए । ‘जसोतसो समय गुजारेर भए पनि ल्याइ हालेछन् भने त्यो साम्राज्यवाद, विस्तारवादद्वारा डिजाइन गरिएको नेपालका दलालहरुमार्फत नेपाल राष्ट्र र जनताको टाउकोमा जवरजस्त लाद्न खोजिएको प्रतिक्रियावादी संविधान हुन्छ, ’ उनले भने, ‘त्यसबेला त्यसलाई अस्वीकार गर्न हामीले नेपाली जनतालाई अपिल गर्छौ । पोलिटिकल काउन्टर गर्छौ । सविधानसभाका विरुद्ध चरणवद्ध सङ्घर्ष गर्छौ ।’

प्रतिक्रियाहरु