‘जनयुद्ध दिवस मनाउने प्रचण्डको नैतिक आधार छैन’

२०७६ फाल्गुन ३ गते, शनिबार

काठमाडौं, ३ फागुन । नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्युरो मध्यपूर्व जिल्लाअन्तर्गत नेपाली जनप्रगतिशील मोर्चा साउदीले संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद ल्याउन प्रवासका मजदुर एक हौँ भन्ने मूल नाराका साथ २५ औँ महान् जनयुद्ध दिवस मनाएको छ । नेपाली जनप्रगतिशील मोर्चा साउदीले शुक्रबार रियादमा विशेष कार्यक्रम आयोजना गरी जनयुद्ध दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि तीर्थ पाख्रिन र सभा अध्यक्ष युवराज कार्की थिए ।
कार्यक्रमका प्रमुख अतिथि तीर्थ पाख्रिनले १० वर्षसम्म सञ्चालित जनयुद्ध क्रान्तिकारीका लागि स्मरणीय दिन भएको बताए । प्रतिक्रान्ति रोक्नका निम्ति फेरि क्रान्ति अपरिहार्य भएको उनको भनाइ थियो । मोर्चाका अध्यक्ष युवराज कार्कीले जनयुद्धका महान् दिनलाई सम्झँदै क्रान्ति र विजय अवश्यम्भावी रहेको ठोकुवा गरे । उक्त कार्यक्रममा मोर्चाका उपाध्यक्ष कसमले स्वागत मन्तव्य राख्दै प्रचण्ड र उनको पार्टीलाई जनयुद्ध दिवस मनाउने नैतिक अधिकार र आधार नभएको धारणा राखे ।
मोर्चाका सांस्कृतिक विभाग इन्चार्ज इन्द्र विकले एकीकृत जनक्रान्तिमा जनयुद्धका अनुभवबाटसमेत पाठ सिक्दै अघि बढ्नुपर्ने बताए । कार्यक्रमको आरम्भमा नेपालमा भएका क्रान्तिकारी आन्दोलनहरूमा सहादत प्राप्त गरेका महान् सहिदप्रति मौनधारण गरिएको थियो । कार्यक्रमको सञ्चालन मोर्चाका महासचिव टीकाराम ओलीले गरेका थिए । विशेष भेलाले मोर्चाका सदस्यहरूको जिम्मेवारीसमेत हेरफेर गरेको छ । मार्चाले कोषाध्यक्षको जिम्मेवारी इन्द्र विकलाई दिएको छ । त्यस्तै परशुराम घर्तीमगरलाई केन्द्रीय सदस्यको जिम्मा दिइएको समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरु