जनयुद्ध दिवसमा प्रहरी हस्तक्षेप : सरकारको फासिवादी हर्कत नरोकिए प्रतिरोध गर्ने चेतावनी

२०७६ फाल्गुन २ गते, शुक्रबार

काठमाडौं, २ फागुन । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध दिवसमा प्रहरीले हस्तक्षेप गरेकोमा घोर आपत्ति जनाउदै सरकारको फासिवादी हर्कत नरोकिए कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ । सो पार्टीले २५ औँ जनयुद्ध दिवस मनाउने क्रममा कयौँ स्थानमा हस्तक्षेप गरी सरकारले पार्टी नेता–कार्यकर्तालाई गिरफ्तार गरेकोमा भत्र्सना गर्दै तत्काल, बिनासर्त रिहा नगरिए शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएको हो । पार्टी केन्द्रीय समितिका तर्फबाट बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता प्रकाण्डले उक्त चेतावनी दिएका हुन् । प्रकाण्डको विज्ञप्तिमा लेखिएको छ, ‘केपी वली–प्रचण्डको सामाजिक दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने सरकारले फागुन १ गते महान् जनयुद्ध दिवसमाथि देशभर हस्तक्षेप तथा आक्रमण गरेर आफ्नो फासिवादी र पश्चगामी चरित्र उदाङ्गो पारेको छ । उसले जनयुद्धको स्मरणमा भएका जुलुस, प्रदर्शनमाथि देशभर अवरोध र आक्रमण गरेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै क्रममा काठमाडौँको सुन्धाराबाट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, केन्द्रीय सदस्य उषाकिरणसहित ५ जना र क्रान्तिकारी माओवादीका दोलखा जिल्ला इन्चार्ज गोविन्दसहित ३ जनालाई चरीकोटबाट गिरफ्तार गरेको छ । गणतन्त्रका लागि मुख्य भूमिका निर्वाह गर्ने पार्टीको आयोजनामा भएको जनयुद्ध दिवस कार्यक्रममाथिको यो आक्रमण सहिद परिवार, घाइते, बेपत्ता परिवार, जनयुद्ध र सबै अग्रगामी शक्तिमाथिको अपमान र ज्यादती हो । हाम्रो पार्टी सरकारको यसप्रकारको फासिवादी र पश्चगामी हर्कतको निन्दा गर्दछ र सबै पार्टीका गिरफ्तार नेता–कार्यकर्ताको बिनासर्त रिहाइको माग गर्दछ ।’
प्रवक्ता प्रकाण्डको विज्ञप्तिको अन्त्यमा चेतावनी दिँदै भनिएको छ, ‘सरकारको यस्तो फासिवादी हर्कत नरोकिए अझ ठूलो प्रतिरोध गर्न पार्टी बाध्य हुने चेतावनी पनि दिन चाहन्छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु