जनप्रतिनिधिको ठाडो आदेशमा काटिए सालको रुख, स्थानीयद्वारा कारवाहीको माग

२०७५ जेष्ठ २३ गते, बुधबार

काठमाडौं, २३ जेठ । ब्यापक काठ तस्करी भइरहेको घटनाहरु सेलाउन नपाउँदै देउखुरीको राप्ती गाउँपालिकाको एक सामुदायिक वनबाट जनप्रतिनिधिकै ठाडो आदेशमा सालको रुख काटिएका छन् । सम्बन्धित सामुदायिक वन उपभोक्ता तथा स्थानीयबासीहरुको अनुमति बिना नै महिला भवन निर्माण गर्ने नाममा जनप्रतिनिधिको आदेशमा करिब ३१.१२ क्यूफुट बढी सालको रुख काटिएको हो । राप्ती गाउँपालिका—१ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र भित्र जेठ १८ गते सोही वडाका वडा सदस्य शान्तिपुर चैते निवासी पूर्णजंङ्ग रेश्मीको ठाडो आदेशमा राप्ती नदी पानी मापन केन्द्र नजिकबाट सालको रुख काटिएको स्थानीयबासीले बताएका छन् । सामुदायिक वन समूह र स्थानीयबासीहरुसँग छलफलै नगरेर रेश्मीले आफूखुसी सालको रुख काट्न आदेश दिएको शान्तिपुर चैतेका स्थानीयबासीले आरोप लगाएका छन् ।
“हाम्रो गाउँमा महिला भवन निर्माणका लागि राप्ती गाउँपालिकाबाट ५० हजार बजेट विनियोजन गरिएको थाहा छ, भवन निर्माणकै लागि भएपनि स्थानीयबासी र सामुदायीक वन समूहलाई किन जानकारी गराइएन ?” स्थानीयबासी नेत्र खनालले भने । भवन निर्माणको नाममा वडा सदस्य रेश्मीले उक्त सालको रुख व्यक्तिगत परियोजनका लागि नै काट्न लगाएको खनालको दाबी छ । सोही ठाउँकी स्थानीय राधा आलेले आफूहरुले रुख फडानीबारे जान्न खोज्दा वडा सदस्य रेश्मीले अश्लील शब्द प्रयोग गरेर उल्टै गाली गरेको बताइन् । वडा सदस्य रेश्मीले भवन निर्माण समितिका अध्यक्ष केशबराज पाण्डेलाई रुख काट्न बारम्बार आदेश दिएका थिए । पाण्डे खुद्रा पसले व्यवसायी भएकोले उनले नभ्याउने भएपछि सोही ठाउँकै रेमबहादुर कँडेललाई उक्त सालको रुख काट्न आदेश दिइयो । कँडेलले रुख काट्न गाउँमा लेबर नपाएपछि प्यूठानबाट चार जना लेबर ल्याई रुख काटेका थिए । “मलाई रुख काट्नका लागि वडा सदस्य रेश्मी र भवन निर्माण समितिका अध्यक्ष पाण्डेले आदेश दिएका हुन् । म उहाँहरुकै आदेशमा उक्त सालको रुख काटेको हुँ” कँडेलले भने । उनले आफूलाई प्रक्रियाबारे जानकारी नभएको समेत बताए । कँडेलले वडा सदस्यले आफूलाई सफाएको आरोप समेत लगाए । यता भवन निर्माण समितिका अध्यक्ष केशबराज पाण्डेले पनि वडा सदस्य रेश्मीकै आदेशमा मैले कँडेललाई रुख काट्न लगाएको बताए । “म एउटा पसल गर्ने व्यवसाय हुँ, मलाई पनि त्यत्तिका कुरा थाहा भएन वडा सदस्यले भनेपछि ठीकै त होला भनेर रुख काट्न लगाइयो । यो नै हाम्रो ठूलो गल्ती भयो” पाण्डेले भने । राप्ती सामुदायिक वन समूहका अध्यक्ष गेमबहादुर खड्काले आफूसँग कुनै सल्लाह नै नगरी सालको रुख काटिएको बताए । उनले रुख कसले काट्न लगाएको त्यो समेत आफूलाई जानकारी नभएको दाबी गरे । “स्थानीयबासीले काटिएको गोलिया नियन्त्रणमा लिई गाउँमा पु¥याएपछि मैले थाहा पाएँ” उनले भने ।
इलाका वन कार्यालय लमहीले मुचुल्का उठाएर काठ बरामद गरेको छ । रुख काट्ने एक जना व्यक्ति मात्र पक्राउ परेका छन् । अरु पनि संलग्न रहेको जानकारी रहेकोले चार दिनका लागि म्याद थप गरी उक्त व्यक्तिलाई वडा सदस्य रेश्मीले जिम्मा लिएका छन् ।
वन समूहले जेठ २० गते आइतबार सल्लाहकार तथा सरोकारवालासहितको बैठक गरेर रुख कटानमा संलग्न सबै व्यक्तिहरुलाई कार्वाहीका लागि इलाका वन कार्यालय लमहीमार्फत जिल्ला वन कार्यालय दाङमा पठाउने निर्णयसहित पत्र पठाउने तयारीमा रहेको अध्यक्ष खड्काले बताए ।
यता वडासदस्य रेश्मीले भने आफूलाई सरासर गलत आरोप लगाएको बताएका छन् । आफूले गाउँको विकासको लागि सोँचेको बताए । उनले आफूले निर्माण समितिका अध्यक्ष पाण्डे र रुख काट्ने कँडेललाई जति सक्दो चाँडै नै सामुदायिक वन समूहसँग सल्लाह गरेर मात्र रुख काट्न सल्लाह दिएको दाबी गरे ।
यस बिषयमा इलाका वन कार्यालय लमहीका सहायक वन अधिकृत कुलचन्द्र दवाडीलाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । जिल्ला वन कार्यालय दाङका वन अधिकृत जगदिशप्रसाद गुप्तालाई बुझ्दा आफूलाई बिस्तृत जानकारी नपाएको प्रतिक्रिया दिए ।
यता शान्तिपुर चैतेबासीले सोमबार गाउँमै पत्रकार सम्मेलन गरी रुख काट्न आदेश दिने वडा सदस्य सहित रुख कटानमा संलग्न सबैलाई वन ऐनअनुसार कडा कार्वाहीको माग गरेका छन् । अहिलेसम्म पनि वडा सदस्य र सम्बन्धित व्यक्तिले आफ्नो गल्ती स्वीकार नगरेका कारण स्थानीय थप आक्रोसित भएका छन् । वन समूहलाई बेवास्त गरी रुख कटानी गर्न आदेश दिन र संलग्नलाई कावारहीको माग गरेका छन् । -सन्तोषकुमार गुप्ता

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार