जनघात, राष्ट्रघात विरुद्ध कविहरू

२०७५ मंसिर ७ गते, शुक्रबार

काठमाडौं, ६ मंसिर । नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले आयोजना गरेको ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि बृहत् कविता गोष्ठी’ मा प्रमुख वक्ताका रूपमा उपस्थित गुणराज लोहनीले नेकपाले गर्न लागेको कार्यक्रमलाई देशभित्र र बाहिर विशेष महत्वका साथ हेरिएकाले सरकार पनि शान्तिपूर्ण कार्यक्रममा कुनै अवरोध नगर्न सरकारलाई सुझावसमेत दिए । शान्तिपूर्ण कार्यक्रम गर्न पाउने अधिकार संविधानले नै सुनिश्चित गरे पनि नेकपाका शान्तिपूर्ण कार्यक्रममा रोक लगाएकोमा आक्रोश व्यक्त गर्दै लोहनीले भने, ‘तिमीहरू आफैँले निर्माण गरेको संविधान आफैँ च्यातेर हामीलाई सहयोग गर्नेछौ ।’
पार्टी पुनर्गठनको अवसर पारेर नेकपाले यही मङ्सिर ८ गते काठमाडौँमा आयोजना गरेको विशाल ¥याली तथा जनसभाको पूर्वसन्ध्यामा पार्टीको केन्द्रीय कार्यक्रमअनुसार महासङ्घको केन्द्रीय समितिले बिहीबार काठमाडौँमा र ब्युरोस्तरीय समितिहरूले विभिन्न स्थानमा कविगोष्ठी आयोजना गरेका हुन् ।
कार्यक्रममा आयोजक जनसांसकृतिक महासङ्घका महासचिव खेम थपलियाले बुर्जुवाहरूको क्रान्तिकारी तथा न्यायपूर्ण आन्दोलनको घाँटी रेट्ने लेखरचनाविरुद्ध धावा बोल्ने बताए । उनले इच्छुकको जेल कविता पनि वाचन गरे ।
त्यस्तै महासङ्घका सचिव अशोक सुवेदीले साहित्यकारहरू भावना एकातिर र काम अर्कोतर गर्ने प्रवृत्तिबाट मुक्त हुनुपर्ने धारणा व्यक्त गरे । उनले आफ्नो मोर्चा जनयुद्धकालमा झैँ सबै चुनौती सामना गर्दै एकीकृत जनक्रान्तिमा हेलिएको बताए ।
गोष्ठीमा डा. रामप्रसाद ज्ञवाली, झपेन्द्र वैद्य, बन्धु चन्द, खुमा सुवेदी, अशोक सुवेदी, अग्निराज पौडेल ‘अराप’, ढुण्डीराज अधिकारी, अतृप्त पाण्डेय, प्रमोद स्नेही, छायादत्त न्यौपाने, ओमप्रसाद कोइराला, प्रकाश गुरागाईं, त्रिभुवनचन्द्र वाग्ले, युवराज नास्तिक, खम्बु चन्द, मुक्तान थेवा, झनक श्रेष्ठ, आस्था घिमिरे, सङ्गीता पनेरु, उमाकान्त यूके, बलराम तिमिल्सिना, केबी गाउँले, नारायण नेपाल, मुकुन्द न्यौपाने, भुवन शिवाकोटी चौघरे, वेदनाथ ढकाल, डिल्लीप्रसाद मुल्तिहुन, गणेश बोहोरा, इच्छुक अनिश्चित, चेतनाथ धमला, समीर यात्री, हरिबहादुर श्रेष्ठ, भावना न्यौपाने, धनञ्जय बुढा, छायादत्त न्यौपानेलगायत ४० जना कविले रूपान्तरणका पक्षमा रचना वाचन गरेका थिए । उनीहरूले कवितामार्फत अन्यायपूर्ण राज्य व्यवस्थाको विकल्पमा आवाज उठाए ।
लुम्बिनीमा पनि कविगोष्ठी
नेपाल कम्युनिष्ट पार्टीले पार्टी पुनर्गठन दिवसको सन्दर्भमा देशैभर कवि गोष्ठी सम्पन्न गरेको हाे । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी व्युरोको आयोजनामा बुटवलमा पनि बृहत् कवि गोष्ठी सम्पन्न भएको छ । कविहरुले कविता मार्फत देश भयानक अवस्थाबाट गुज्रिरहेको भन्दै वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।
नेकपाको पार्टी पुनर्गठन दिवसको सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत देशैभरि गरिएको कार्यक्रमको सन्दर्भमा बुटवलमा भएको कविता गोष्ठीमा कविहरुले देशमा व्याप्त भ्रष्टाचार, महंगी, जनघात, राष्ट्रघात विरुद्ध सचेत नागरिकहरु मौन बस्न नहुने बताएका छन् ।
कविता गोष्ठीमा वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक दिल साहनीले राष्ट्रियताको दृष्टिकोणले देश गम्भीर अवस्थामा रहेको भन्दै देशभक्त लेखक साहित्यकारहरुले खवरदारी गर्नुपर्ने बताए । लेखक साहनीले साहित्य र राजनीति एकअर्कामा अन्तर सम्बन्धित रहेको भन्दै विचारविहिन कला मृत साहित्य हुने बताए । उनले सुन्दर कला र विचारको समायोजनबाट सुन्दर साहित्य हुने भन्दै प्रगतिवादी आन्दोलनमा कृष्णसेन इच्छुक यसको उदाहरण भएको बताए । उनले अहिलेको अवस्थामा साहित्यकारहरुले गरिब दुःखीहरुको जीवन फेर्ने आन्दोलनको पक्षमा साहित्य सिर्जना गर्नुपर्ने बताए ।
कविता गोष्ठीमा साहित्यकारहरु गिरि श्रीस मगर, दीपक विश्वकर्मा, ज्ञानु केसी, मीन राना, गुरुप्रसाद कुमाल बुलबुल, पारस राहादी मगर, रुपा बुढा मगर, शिव डुम्रे, प्रकाशसिंह राना मगर, इन्दु ओली, ताराप्रसाद श्रेष्ठ लगायत २१ जनाले कविता प्रस्तुत गरेका थिए भने क्षितिज परिवारका कलाकार आत्मा र अखिल नेपाल लेखक संघ रुपन्देहीका संयोजक विहानी मगरले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि कृष्णसेन इच्छुकको कविता समेत वाचन गरिएको थियो ।
अन्तर्राष्ट्रिय गीत गाएर सुरु गरिएको कार्यक्रममा यसको उद्देश्यवारे जानकारी गराउँदै महासङ्घका केन्द्रीय सदस्य एवं लुम्बिनी व्युरो संयोजक खोमा तरामु मगरले पार्टी पुनर्गठन दिवसलाई देशव्यापी उत्सवको रुपमा मनाउने निर्णय अनुसार कविता गोष्ठी गरिएको भन्दै दलाल पुँजीवादी संस्कृतिका विरुद्ध सम्पूर्ण देशभक्त कलमजीवी एवं संस्कृतिकर्मीहरु एक हुनुपर्ने बताए ।

प्रतिक्रियाहरु