जनगणनामा नागरिकतासम्बन्धी प्रश्न नराखिने

२०७६ असार २८ गते, शनिबार

काठमाडौं, २८ असार । अमेरिकामा आगामी सन् २०२० मा हुने जनगणनामा नागरिकतासम्बन्धी प्रश्न नराखिने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले जनगणनाको प्रश्नावलीमा नागरिकतासम्बन्धी प्रश्न राख्ने प्रयास नगर्ने बताएका छन् । अदालतको आदेशका कारण जनगणनामा ढिलाइ हुन सक्ने भएकाले त्यसको सट्टा एउटा कार्यकारी आदेशमार्फत् उनले सूचना संकलन गर्न अधिकारीहरूलाई निर्देशन दिएको बताएका छन् । जनगणनामा नागरिकतासम्बन्धी एउटा प्रश्न समावेश गर्ने योजना सर्वोच्च अदालतले गत जुनमा रोकिदिएपछि त्यसबाट ट्रम्प पछि हटेका हुन । उनले अमेरिकाको जनसंख्याको नागरिकताको अवस्था निक्र्यौल गर्ने प्रयासबाट भने आफू पछि नहटेको बताएका छन् ।
राष्ट्रपतिको आदेश अनुसार सरकारी निकायले सबैको नागरिकतासम्बन्धी कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । ट्रम्पले कार्यकारी आदेशसँगै अमेरिकामा कति नागरिक, अनागरिक र गैरकानुनी मानिसहरू बसिरहेका छन् भन्ने विषयमा वास्तविक रुपमा सूचना पाउन सन् २०२० को जनगणनाबाट सुनिश्चित हुने बताए । राष्ट्रपति ट्रम्पसँगै रहेका महान्यायाधिवक्ता विलियम बारले नागरिकतासम्बन्धी प्रश्न नराख्ने निर्णय कुनै कानुनी अवरोधका कारण नभई व्यवस्थापकीय विषय भएको बताए । उनले नागरिकतासम्बन्धी प्रश्न समावेश गर्न प्रशासनका लागि पर्याप्त आधार रहेको पनि बताए । तर अदालतको आदेशलाई उल्लेख गर्दै महान्यायाधिवक्ता बारले जनगणना गर्ने क्षमतामा असर नपार्न नयाँ निर्णय लागू गर्नुको विकल्प नभएको स्पष्ट पारे ।-एजेन्सी

प्रतिक्रियाहरु