जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृतसहित ९ जना समातिए

२०७५ भाद्र २७ गते, बुधबार

काठमाडौं,२७ भदौ । प्रहरीले बूढानीलकन्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित ९ जनालाई मंगलबार पक्राउ गरेको छ । जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जनाकारी दिए ।
त्यस्तै, प्रहरीले जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न बिचौलिया ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाईसमेत पक्राउ गरेको छ ।
मालपोतका कर्मचारीको मिलेमतोमा उनीहरुले गौतमको नाममा जग्गाधनी कायस्थको नक्कली वारेसनामा बनाइ कित्ता नम्बर–३२९ को एक रोपनी ९ आना तीन पैसा, कित्ता नम्बर–३२५ को ८ आना एक पैसा र कित्ता नम्बर–३२३ को ६ आना जग्गा भट्टराई र बडुवालको नाममा पास गरेका थिए ।
पक्राउ परेका ९ जनालाई लिखतसम्बन्धी कसूर र संगठित अपराध मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उपरीक्षक लामाले बताए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु