छोरीलाई सन्देश – बलराम तिमल्सिना

२०७५ मंसिर २७ गते, बिहीबार

प्यारी छोरी
अव कहिलै पनि नभन-
हामी त झार पात
पराई घर जाने जात
मलाई पराई घर पठाउँन मन छैन !

बा-आमाको काँखमाजस्तो
कहाँ पाइन्छ स्वतन्त्रता ?
कहाँ पाइन्छ घुर्क्याउँन
रुन , रिसाउँन र खुट्टा ठट्टाउँन ?

यो इतिहासले थोपरेको अत्याचार
अव तिमीले मास्ने हो
यही घरमा ज्वाइँ ल्याउँने हो
यही घरमै हाँस्ने हो !

यो कसरी तिम्रो घर भएन ?
कसले भन्यो त्यो जाली कुरा ?
भाईको हुने , दाइको हुने
तिम्रो किन नहुने छोरी ?
विन्ती , पराई घर जाने कुरा नगर
दिल टुक्र्याएर लाने कुरा नगर !

प्यारी छोरी
अवदेखि तिमीले
घर फेर्नु पर्दैन
थर फेर्नु पर्दैन
अबुझ दिदीहरूलेजस्तो
नामको पछाडि कसैको
थर जोड्न हतारिने कुरा गर्दै नगर
घर छोड्न हतारिने कुरा गर्दै नगर !

तिमी जहाँ जन्म्यौ
त्यही तिम्रो घर हो
जुन कोखबाट जन्म्यौ तिमी
त्यही तिम्रो थर हो
अर्काको थर थोपरेर नाममा
तिमी कसरी तिमी हुन्छ्यौ छोरी ?

जुन धर्मले तिमीलाई हेप्यो
त्यो धर्म हैन अत्याचार हो
जुन प्रथाले तिमीलाई सतायो
त्यो प्रथा हैन व्यभिचार हो
जुन परम्पराले तिमीलाई वाँध्यो
त्यो परम्परा हैन दूराचार हो
जेल हो , नेल हो , हतकडी हो !

तिमीले ती सवै तोड्ने हो
च्यात्ने हो , जलाउँने हो
नाघ्ने हो, ढलाउँने हो
मेरी छोरीले नौलो चलन
आफैबाट चलाउँने हो !

स्वतन्त्र वन्न मन हुनेले
पिँजडालाई प्रेम गर्दैनन्
अव मेरा छोरीहरू
अज्ञानी कुरा गर्दै गर्दैनन् !

माइती घर , माइती घर होइन
आफ्नै घर हो छोरी
पराई घर जाने कुरा रहर हैन
कहर हो कर हो छोरी
परम्परालाई पाता कस्ने
मेरी छोरी आफ्नै घरमा बस्ने !

प्रतिक्रियाहरु