छाला वस्तु प्रदर्शनी पुस ९ देखि

२०७१ पुष ७ गते, सोमबार

काठमाडौं। छाला वस्तु तथा जुत्ता चप्पलको एघारौं औद्योगिक प्रदर्शनी पुस ९ गतेदेखि १५ गतेसम्म हुने भएको छ। ‘सामुहिक व्यापार चिह्नको प्रयोगः स्वदेशी उत्पादनको पहिचान’ भन्ने मुल नाराका साथ प्रदर्शनी हुन लागेको हो।अन्य प्रदर्शनीभन्दा यो अलि फरक भएको आयोजकको दाबी छ। विगतमा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको मात्र एकल प्रदर्शनी हुन्थ्यो भने यस पटक कपडा तथा सिलाई व्यवसायी संघलाई समेत समावेश गराई एउटै छानामुनी स्वदेशी वुट र स्वदेशी सुटको प्रर्दशनी आयोजना हुनलागेको छाला जुत्ता तथा वस्तु उत्पादक संघले जनाएको छ।
करिब १ सय ८० वटा स्टल मध्ये ५० वटा स्टल नेपाल कपडा तथा सिलाई व्यवसायी संघको रहनेछ। जसमा सर्ट पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडाहरु तथा आकर्षक डिजाइनका सटिङसुटिङका डिजाइनहरु प्रदर्शनीमा रहनेछन्। बाँकी १ सय २० वटा स्टलहरुमा जुत्ता चप्पल तथा छालाजन्य वस्तु तथा ती वस्तु उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थका उत्पादनहरु प्रदर्शनीमा राखिने संघले जनाएको छ। १० वटा स्टलहरु स्वदेशी उत्पादनका वस्तुहरु र रेस्टुरेन्टहरुको हुुनेछन्।
हाल नेपालमा घरेलु तथा साना उद्योग विभाग र समितिमा ८ सय ५० छाला जुत्ता सम्बन्धी उद्योग दर्ता भएका छन्। दुई हजार भन्दा बढी उद्योग तथा व्यावसायी रहेको अनुमान छ। यी उद्योगमा झण्डै ५० हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको छ। जसमध्ये ३० प्रतिशतको संख्या महिलाको रहेको संघले जनाएको छ।
यो बाहेक अप्रत्यक्ष रुपमा झण्डै २ लाख २५ हजार व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको छ। संघका अनुसार नेपाली बजारमा जुत्ता चप्पलको माग वार्षिक करिब ५ करोड जोर रहेको छ। यसमध्ये ६० देखि ६५ प्रतिशत स्वदेशी उत्पादनले पूर्ति गर्ने गरेको छ।
स्वदेशी उत्पादन बारे आम उपभोक्तालाई स्थलगत अवलोकन गराउने, स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने, विदेशी जुत्ता चप्पल र वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी मुलुकलाई आत्मनिर्भर बनाउने लगायतका उद्देश्य राखेर प्रदर्शनी गर्न लागिएको संघले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु