चौधरीलाई ‘गोली हानी’ मृत्युदण्ड दिन आदेश

२०७५ जेष्ठ २१ गते, सोमबार

काठमाडौं, २१ जेठ । कतारको अदालतले कतारी नागरीक उमैर मोहोम्मद उमैर अल रमाजानी अल-नुयमीको हत्या अभियोगमा अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको छ । तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको अध्यक्षतामा बसेको इजलासले सो फैसला सुनाएको हो । तल्लो अदालतले गरेको फैसला उपर नेपाली दूतावासले चौधरीको जीवनरक्षाको लागि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । औराही–१, मोहत्तरीका चौधरी कतारी नागरीक अल नुएमीको हत्या अभियोगमा सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । अदालतले ‘गोली हानेर’ मृत्यदण्ड दिने फैसला सुनाएको हो ।
हालसम्म हत्या अभियोग लागेका नेपालीहरुमध्ये चौधरीविरुद्व आएको आदेश सबैभन्दा कडा हो । घटनाको पूर्ण विवरण बाहिर सार्वजनिक गरिएको छैन । कतारस्थित नेपाली दूतावासले चौधरीको सहमतिमा पुनरावेदन गरिएको जनाएको छ । सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै ३० हजार रियाल, करिव ६ लाख रुपैयाँ) राजदूतावासले सरकारसँग माग गरेपछि, परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालय हुँदै वैदेशिक रोजगार प्रर्वद्धन बोर्डलाई पैसा उपलब्ध गराउन अनुरोध गरेको छ ।
बोर्डले बजेट उपलब्ध गराउने सम्बन्धमा छलफल भइरहेको जनाएको छ । चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । उनी कार वास कम्पनीमा सामान्य मजदुरको हैसियतमा काम गर्थे । उनलाई केन्द्रीय कारगारमा राखिएको छ । नेपालीद्वारा कतारी नागरीकको हत्या गरिएको यो पहिलो घटना हो । कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा लागेकाहरु भने १० जना जेलमा छन् । पोखराका कौशल कार्कीलाई १० वर्ष जेल र २ लाख ६० हजार रियाल ब्लडमनी तिनुपर्ने फैसला भइसकेको छ । गणेशकुमार कार्कीलाई आजिवान कारावास र २ लाख ६० हजार रियाल जरिवाना तोकेको छ । कौशलले हत्या स्वीकार गरेपनि गणेशले अझैसम्म अभियोग स्वीकार गरेका छैनन् । अदालतले सिद्धी नाज र बालकुमार श्रेष्टलाई पनि आजिवान कारावास र २ लाख ६० हजार रियाल जरिवाना तोकेको छ । आफ्नै दाई रामप्रसाद कुमार दनुवारको हत्या अभियोगमा भविलाल कुमार दनुवार पनि जेलमा छन् । उनको अभियोगमा फैसला भएको छैन । विनोद रानाभाट, अन्सारुल रैन, राम महरा, बिष्णु दर्जे र उर्गेन शेर्पामाथि हत्याको अभियोग छ । दर्जे र शेर्पामाथि दीपक रोक्काको हत्या अभियोग लगाइएको छ ।

प्रतिक्रियाहरु