चोरीमा भन्सारकै कर्मचारीको मिलेमतो !

२०७४ माघ ५ गते, शुक्रबार

काठमाडौं, ५ माघ । कञ्चनपुरको गड्डाचौकीमा दोस्रो मुलुकबाट व्यापारीले ल्याउने समान भन्सार कार्यालयबाटै हराउने र चोरी हुने गरेको छ । अनौठो कुरा त चोरीमा भन्सारकै कर्मचारीको मिलेमतो रहने गरेको खुलासा भएको छ । भारतिय सिमावर्ती शहर वनबासाबाट ट्रान्सर्पोट कम्पनीले महेन्द्रनगरका व्यापारीको सामान भन्सार कार्यालय मार्फत पठाएको सामान व्यापारीले नउठाउँदासम्म भन्सार परिसर भित्र सामान राख्न वनाईएका यार्डहरुमा राखिन्छ ।
तर भन्सार परिसर भित्रवाटै सामानका पोका काटेर त्यस भित्रको सामान चोरी गरी लैजान लागेको भन्सार कार्यालयकै सिसिटिभि फुटेजमा फेला परेपछि सो कुरा वाहिर आएको हो ।
भन्सार कर्मचारीहरुले कार्यालय परिसर भित्र राखेको मालसमान सम्वन्धित पक्ष आएमात्रै जिम्मा लगाउनुपर्ने हो तर कार्यालयमा कर्मचारीको अभावका कारण व्यवस्थापन गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । विगत लामो समयदेखि भन्सार परिसरवाट मालसमानको परिमाण कम हुने गरेको भएपनि पछिल्लो समय भने कार्टुन नै गायव हुन थालेपछि व्यापारीहरुले छानबीनको माग गरेका छन् । कार्यालय परिसरबीच भागबाटै सर्वसाधारण आवत जावत समेत गर्ने गरेको र केहि व्यक्तिहरुले व्यापारीको सामानलाई जथाभावी चलाउने र केहिले सामान लगेरै गएको कार्यालयमा रहेको सिसिटिभि फुटेजमा देखिएको छ । भन्सार प्रमुखलगायत अन्य कर्मचारीको कार्यकक्षमा लाखौंको फनिचर र डेकोरेशन गरिएको छ । तर करोडौको मालसमान सुरक्षाका लागी परिसरमा १०-१५ हजारको तारबारसम्म कार्यालयले लगाउन नसकेको भन्दै कर्मचारीकै चरम लापर्वाहीका कारण आफुहरुका मालसमान चोरी हुने गरेको व्यापारी बताउँछन् । भन्सार कार्यालयको कमजोरी रहेकोे स्वीकार गर्दै भन्सार कार्यालयको परिसर वरिपरि छिट्टै तारवार लगाउन पहल गर्ने गड्डाचौकी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद पोख्रेल बताउँछन् ।
देशमा राजश्व वढाउन भन्सारको मुख्य भुमिका रहँदै आएपनि यस्ता घटनाले देशकै गरिमामा आँच लाग्न सक्ने देखिन्छ । त्यसैले सम्बन्धित निकायको ध्यान यसतर्फ तत्काल जानु आवश्यक छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु