चेलिबेटी बेचबिखनले बिकराल रुप लिदै

२०७३ भाद्र १२ गते, आईतवार

काठमाडौँ, १२ भदौ । विश्वमा तीन करोडभन्दा बढी चेलिबेटी बेचबिखनको सिकार बनेको सरोकारवालाले बताएका छन् । चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय समूह (एनएनएजिटी) को चौँथो राष्ट्रिय सम्मेलनको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले दैनिक लाखौँ चेलिबेटी बेचबिखनको सिकार बन्दै आएको बताए । उनले भने , “दिनहुँ नेपालमा धेरै महिला चेलिबेटी बेचबिखनको सिकार बनेका छन् । त्यसलाई रोक्न मानवअधिकार आयोग दृढ भएर लागेको छ ।” उनले चेलिबेटी बेचबिखन सीमानाकाबाट बढी हुने हुँदा बेचबिखनलाई रोक्न नेपाल प्रहरीको सक्रियता बढाउनु जरुरी रहेको उल्लेख गरे ।
समूहका सल्लाहकार भारती सिलवालले नयाँ दिल्ली, हङकङ, तिब्बतमा धेरै चेलिबेटीको बेचबिखन हुने गरेको उल्लेख गर्दै भूकम्पको समयमा नेपालमा धेरै चेलिबेटी बेचबिखन भएको स्मरण गराइन । समूहको संस्थापक अध्यक्ष दुर्गा घिमिरेले नक्कली बिहेको नाउँमा नेपाली चेलिबेटी बेचबिखन भइरहेको बताइन ।
संस्थाकी अध्यक्ष डा उषा पोखरेलले गरिबीका कारण चेलिबेटी बेचबिखन फस्टाउँदै गएको बताउँदै यसलाई नियन्त्रण गर्न सबै पक्ष एक हुनु जरुरी रहेको खाँचो औँल्याइन ।
कार्यक्रममा महिला र बालबालिकाको अधिकारका काम गर्दै आएका अधिकारकर्मी दुर्गा घिमिरे र चितवन जिल्लाका जिल्ला न्यायाधीश टेकनारायण कुँवरलाई सम्मान गरिएको थियो ।

प्रतिक्रियाहरु