चुनाव सम्बन्धी विप्लवको ताजा धारण

२०७४ मंसिर ३ गते, आईतवार

काठमाडौँ , ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चुनाव खारेज गर्ने आफ्नो पार्टी र चुनावमा सहभागी पार्टीहरुबीच अन्तरविरोध जस्तो देखिएपनि चुनाव मात्र नभएर राजनीतिक दृष्टिले गम्भीर गम्भीर वैचारिक विषय भएको बताएका छन् । “बाहिरबाट झट्ट हेर्दा संसदवादी तथा दलाल पुँजीवादी आत्मसमर्पणवादीहरु चुनाव गर्ने र हाम्रो पार्टी चुनाव खारेज गर्ने बीचको अन्तरविरोध जस्तो देखिन्छ । तर यो सारतत्वमा चुनावको मात्र विषय नभएर राजनीतिक दृष्टिले गम्भीर वैचारिक विषय हो” विप्लवले भनेका छन् ।
पार्टीको मुखपत्र रातो खबरमा ‘चुनाव खारेजी अभियान र पार्टी नीतिबारे’ शिर्षकमा विप्लवले पार्टीको नयाँ धारणा सार्वजनिक गरेका हुन् । चुनाव गर्ने पार्टीहरुको उद्देश्य जनयुद्धलाई विसर्जन गरेपछि पुरानो संसदीय व्यवस्थालाई काम गर्दै पुँजीवादलाई बलियो बनाउने बताउँदै विप्लवले आफ्नो पार्टीले वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने आफ्नो पार्टीको उद्देश्य रहेको बताए ।
चुनावी मैदानमा रहेका पार्टीहरुले चुनाव खारेजीलाई जनताको लोकतान्त्रिक अधिकार खोस्न भन्ने भनाईको उल्टो भएको विप्लवले बताएका छन् । झुक्याएर, भ्रम सिर्जना गरेर उल्टो प्रचार गरेको बताउँदै विप्लवले चुनाव खारेजी अभियान जनविरोधी व्यवस्थालाई पुर्नस्थापित गर्न नदिने दृष्टिकोण भएको बताए ।
विप्लव अगाडि भन्छन्, “चुनावको पक्षमा रहेकाहरुले झुक्याएर, भ्रम सिर्जना गरेर चुनाव खारेजी जनताको लोकतान्त्रिक अधिकार खोस्ने आरोप लगाएपनि वास्तविकता त्यसको ठीक उल्टो छ । सत्यकुरा जनताको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्ने र जनविरोधी संसदीय व्यवस्थालाई पुनस्र्थापना गर्न नदिने दृष्टिकोण बीचको संघर्षको विषय हो ।”
महासचिव विप्लवले क्रान्तिविरुद्ध गरिने खेलबाड र गद्दारीले झन ठूलो क्रान्ति र विद्रोह जन्माउने बताएका छ्न । “जनयुद्ध विरुद्ध गरिएको षड्यन्त्र र गद्दारीले देशलाई अझ शक्तिशाली जनक्रान्तितर्फ लगिरहेको छ । परिस्थिति त्यसैतर्फ गइरहेको छ” विप्लवले भने ।
जनक्रान्तिलाई जतिसुकै दमन गरेपनि, दलाल तत्वहरुले जतिसुकै फत्तुर लगाएपनि केही लछारपाटो नलगाउँने भन्दै विप्लवले चुनावमा सहभागी पार्टीहरु जतिसुकै कुर्लेपनि क्रान्तिको प्रवाह नरोकिने बताए । क्रान्तिको धक्काद्वारा उनीहरुको अन्त्य अनिवार्य छ । सारमा संसदीय व्यवस्थाको खारेजी र वैज्ञानिक समाजवाद तर्फको यात्रा यसैमा अभिव्यक्त हुन्छ ।
विप्लवले चुनाव खारेजीको आवश्यकताबारे तीन बुँदामा पार्टीको धारणा राखेका छन् ।
१. बाहिरबाट झट्ट हेर्दा संसदवादी तथा दलाल पुँजीवादी आत्मसमर्पणवादीहरु चुनाव गर्ने र हाम्रो पार्टी चुनाव खारेज गर्ने बीचको अन्तरविरोध जस्तो देखिन्छ । तर यो सारतत्वमा चुनावको मात्र विषय नभएर राजनीतिक दृष्टिले गम्भीर वैचारिक विषय हो । चुनाव गर्न चाहनेको राजनीतिक दृष्टिकोण जनयुद्धलाई विसर्जन गरेपछि पुरानो संसदीय व्यवस्थालाई कायम गर्दै पुँजीवादलाई बलियो बनाउने र हाम्रो पार्टी चुनाव खारेज गर्दै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने भएको छ ।
चुनावको पक्षमा रहेकाहरुले झुक्याएर, भ्रम सिर्जना गरेर चुनाव खारेजी जनताको लोकतान्त्रिक अधिकार खोस्ने आरोप लगाएपनि वास्तविकता त्यसको ठीक उल्टो छ । सत्यकुरा जनताको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्ने र जनविरोधी संसदीय व्यवस्थालाई पुनस्र्थापना गर्न नदिने दृष्टिकोण बीचको संघर्षको विषय हो । त्यसैगरी चुनाव खारेजी अभियान मताधिकारको विरुद्धजस्तो देखिएपनि अथवा संसदवादीहरुले त्यसरी प्रचार गरेपनि यथार्थमा हाम्रो अभियान संसदीय व्यवस्थालाई जनताकै सहभागिताद्वारा खारेज र असफल पार्ने दृष्टिकोण हो ।
२. चुनाव गर्ने र खारेज गर्ने प्रश्न चुनावमा मतदान गर्ने कि नगर्ने जस्तो देखिएपनि यथार्थमा कस्तो राजनीतिक व्यवस्था निर्माण गर्नेभन्ने राजनीतिक संघर्षको प्रश्न हो । पुँजीवादी दलाल संसदवादीहरुलाई अस्विकार गर्ने र स्विकार गर्ने, वैज्ञानिक समाजवाद स्थापना गर्न चाहने र विरोध गर्ने पक्षहरुका बीचको संघर्ष हो । यो पुँजीवादी शासन व्यवस्थालाई श्रमिक जनताले अस्विकार गर्ने र वैज्ञानिक समाजवादलाई पुँजीपति वर्गले अस्विकार गर्ने परस्पर विरोधी वर्गबीचको संघर्षको विषय हो । सारतत्वमा यो विपरित वर्गहरुबीचको राजनीतिक संघर्ष हो ।
पुँजीवादीहरुलाई के थाहा छ भने सिधै वैज्ञानिक समाजवादको विरोध गर्नुभन्दा चुनावको बहाना बनाएर जनतालाई वैज्ञानिक समाजवाद विरुद्ध लैजाने चालबाजी प्रभावकारी हुन्छ । हामीले भने त्यसको उल्टो चुनावलाई चुनावकै रुपमा मात्र नभएर राजनीतिक संघर्षको रुपमा प्रस्तुत गर्दै, जनतालाई प्रशिक्षित गर्दै अधिकार र मुक्तिलाई सुनिश्चित गर्ने दिशामा लैजान सकिन्छ भन्ने सोच्छौं ।
३. चुनाव सम्पन्न गर्ने र खारेज गर्ने प्रश्न दलाल पुँजीपति वर्ग र श्रमिक जनताको राजनीतिक उद्देश्यसँग जोडिएको प्रश्न हो । पुँजीवादी र दलाल पुँजीवादीहरुले चुनावको बहाना र माध्यमबाट नेपालमा दलाल पुँजीवादी व्यवस्थालाई संस्थागत र सुदृढ गर्ने उद्देश्य लिएका छन् भने श्रमजीवि जनतालाई हाम्रो पार्टीले चुनाव खारेजीद्वारा दलाल पुँजीवादी व्यवस्थालाई अस्विकार गर्ने र नेपाललाई वैज्ञानिक समाजवाद तर्फ लैजाने उद्देश्य राखेको छ ।
संसदवादीहरुको जोड जनतालाई वैज्ञानिक समाजवादबाट विमुख गर्नु रहेको छभने हाम्रो पार्टीले दलालहरुलाई नङ्ग्याउने र त्यसलाई वैज्ञानिक समाजवाद तर्फ अग्रसर गराउनु रहेको छ ।

प्रतिक्रियाहरु