चीनबाट १८ . ८४ टन स्वास्थ्य सामग्री ल्याइयो

२०७७ जेष्ठ ६ गते, मंगलवार

काठमाडाैँ, ६ जेठ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत १८. ८४ टन स्वास्थ्य सामग्री आज काठमाडौं ल्याइएको छ । नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको हो । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार स्वास्थ्य सामग्रीहरुमा पीसीआर किट, पीपीई, एन ९५ मास्क, ग्लोब्स्लगायतका छन् ।
ओम्नी विजनेश कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो । सेनाले वैशाख पहिलो साता सरकार र सरकारबीच जीटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदका लागि चिनियाँ वाणिज्य मन्त्रालयसँग दुई अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता गरेको थियो । सेनाले यसअघि शनिबार स्थलमार्गबाट १० कन्टेनर स्वास्थ्य सामग्री ल्याएको थियो । सेनाले जम्मा ३४३ टन स्वास्थ्य सामग्री ल्याउनेछ ।
त्यसमध्ये जहाजमार्फत ४७ दशमलब ५ टन र बाँकी सडकमार्गबाट ल्याउनेछ । सेनाले पहिलोपटक आज जहाजमार्फत स्वास्थ्य सामग्री ल्याएको हो ।

प्रतिक्रियाहरु