चिन्ता अर्थात चिन्ताको चिन्ता – बलराम तिमल्सिना

२०७६ जेष्ठ २ गते, बिहीबार

वेला वेलामा
चिन्तन गरेजस्तो
वेला वेलामा
चिन्ता गरेजस्तो
देखाउँनु छ उनले दुनियाँलाई
दुनियाँ पनि चानचुने छैन
हुनु र देखिनुको भिन्नता
ठ्याक्कै बुझ्छ दुनियाँ
आफूले गरेको चिन्ताको नाटक
खोटो प्रमाणित होला भनेर
आजकल चिन्तामा छन कमरेड
चिन्ता अर्थात चिन्ता बिकाउँने चिन्ता !

एता झुपडीतिर पनि
झुल्कनु छ आक्कल झुक्कल
खसाउँनु छ गोहीको आँसु
उता भूपू दुश्मनको हवेलीमा
मनाउँनु छ दोहोरो उत्सव
अलिकति देशको नाममा
अलिकति देशबासीको नाममा
शान्तिको नाममा , समृध्दिको नाममा
अलिकति
आफैद्वारा हत्या गरिएका सपनाको नाममा
ती सवैको नाममा
अड्कली अड्कली
निचोरी निचोरी
खसाल्नु छ नक्कली आँसु
कसैले प्रयोगशालामा लगेर
भनिदियो भने-
यी समर्पणका हैनन्
यी त लोभका आँसु हुन
ती आँसुको पोल खुल्ला भनेर
कमरेड गहिरो चिन्तामा छन
चिन्ता अर्थात अपराध लुकाउँने चिन्ता !

कहीं लोभ बेचेर
कहीं क्षोभ बेचेर
कहीं उत्तेजना कहीं मौनता बेचेर
कहीं घुर्की बेचेर
कहीं धम्की बेचेर
कहीं इमान बेचेर कहीं जमान बेचेर
यसरी समग्रतामा भ्रम बेचेर
धोका बेचेर विश्वासघात बेचेर
कति दिन चल्ला यो महालुट
कमरेड गहिरो चिन्तामा छन
धोका अर्थात भ्रम छोप्ने चिन्ता !

सपनामा
टुहुरा नानीहरू आउँछन
र आफ्ना वावा- आमा सोध्छन
वृध्द आमाहरू आउँछन
र आफ्ना कोखका सन्तानहरू सोध्छन
विधवा नारीहरूको जुलुश आउँछ
र ज्ञापन पत्र बुझाएर जान्छ
ह्विल चेयरमा घाइतेहरू आउँछन
र आफ्नो त्यागको मूल्य सोध्छन
अयोग्यहरू आउँछन
र शेरचन आयोगको प्रतिवेदन खै भन्छन
कमरेड मध्यरातमा व्युँझन्छन
र गुहार लगाउँन थाल्छन
दरवार जस्तै घरमा
असंख्य सूरक्षा घेराभित्र पनि
कसरी छिर्छन यी मान्छेहरू ?
किन निद्रामा पनि सताउँछन
कमरेड अवर्णनीय चिन्तामा छन
चिन्ता अर्थात इतिहाससँग भाग्ने चिन्ता !

प्रतिक्रियाहरु