चिनियाँ राष्ट्रपति दक्षिण एसिया भ्रमणमा

२०७१ भाद्र २९ गते, आईतवार


काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आइतबारदेखि सुरु हुने दक्षिण एसियाली मुलुकको भ्रमणलाई चीनले छिमेकीसँग मजबुत सम्बन्ध र साझा विकास प्रवर्द्धन गर्ने प्रमुख कूटनीतिक कदम बताएको छ ।चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका सीले एकैपटक माल्दिभ्स, श्रीलंका र भारतको साताव्यापी राजकीय भ्रमण गर्दैछन् । सन् २०१३ मार्चमा सर्वोच्च शक्तिशाली राष्ट्रपतिको पदभार सम्हालेयता उनले पहिलो पटक उपमहाद्वीपको भ्रमण गर्न लागेका हुन् । राष्ट्रपति सीको भ्रमण चीन र दक्षिण एसियाबीच भविष्यमा आपसी सहयोगका लागि रूपरेखा निर्माण गर्न तथा साझा विकास र समृद्धिलाई बढावा दिन सहयोगी हुने चिनियाँ सहायक विदेशमन्त्री लिउ जिनचाओले बताए ।चीनको चाहना सौहार्दपूर्ण, शान्त र समृद्ध छरछिमेक निर्माण भएको उल्लेख गर्दै चिनियाँ समाचार एजेन्सी सिन्हाले सीको भ्रमण छिमेक कूटनीति प्रवर्द्धन गर्ने अर्को एउटा प्रयास भएको जनाएको छ ।
भारत भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले चीन-भारत सम्बन्ध र चीनको दक्षिण एसिया नीतिबारे भाषण दिनेछन् । चीन पछिल्लो समय दक्षिण एसियाली मुलुकहरूमा आफ्नो प्रभाव विस्तार गर्दै लैजाने रणनीतिअनुरूप अघि बढेको छ । यसैले पनि राष्ट्रपति सीको यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।चिनियाँ परराष्ट्र मन्त्रालयले करिब दुई साताअघि बेइजिङमा रहेका नेपाललगायत दक्षिण एसियाली मुलुकका नियोग अधिकारीलाई निम्त्याई राष्ट्रपति भ्रमणबारे जानकारी गराएको थियो । उक्त भेटमा चीनले सबै दक्षिण एसियाली मुलुकसँग सहकार्य बढाउन चाहेको उल्लेख गर्दै भ्रमणका बखत कुनै ठूला सम्झौता भए समग्र क्षेत्रीय हितलाई प्राथमिकतामा राखिने बताएको छ ।

प्रतिक्रियाहरु