चिनियाँ राष्ट्रपतिलाई अनिश्चितकालसम्म सत्तामा रहने बाटो खुला

२०७४ फाल्गुन २८ गते, सोमबार

काठमाडौं, २८ फागुन । चीनको नेसनल पिपुल्स कंग्रेसले दुई कार्यकालमात्रै राष्ट्रपति रहन पाउने संवैधानिक व्यवस्था अन्त्य गर्ने गरी ल्याइएको संविधान संशोधनलाई अनुमोदन गरेको छ । उक्त संशोधनले राष्ट्रपति सी चिनफिङलाई सन् २०२३ मा आफ्नो कार्यकाल समाप्त भएपछि पनि अनिश्चितकालसम्म सत्तामा रहिरहने बाटो खुला गरिदिएको छ । चीनले राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि सन् १९९० को दशकमा तय गरेको थियो । राष्ट्रपति सीले आफ्ना सम्भावित उत्तराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए ।
त्यसको सट्टा उनले राजनीतिक शक्ति आफूमा केन्द्रीत गर्नुका साथै पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल भएका थिए । त्यसबाट उनको हैसियत चिनियाँ कम्युनिष्ट पार्टीका नेता अध्यक्ष माओ चे तुङकै हैसियतमा पुगेको छ । राष्ट्रपति सीको दोस्रो कार्यकाल सन् २०२३ मा पूरा हुँदैछ । -एजेन्सी

प्रतिक्रियाहरु