चिनियाँ पर्यटक सीधै नेपाल आउन पाउने

२०७१ भाद्र २ गते, सोमबार


काठमाडौँ ।चीन सरकारले नेपाल भ्रमणमा जाने आफ्ना नागरिकलाई अग्रिम प्रवेशाज्ञा (भिसा) लिन नपर्ने व्यवस्था गरेको छ।नेपालले चिनियाँ नागरिकलाई आगमन (अन अराइभल) भिसा सुविधा दिने गरेको भए पनि यसअघि नेपाल जाने पर्यटकले अग्रिम भिसा लिएर मात्र चीन छाड्न पाउने बाध्यकारी व्यवस्था थियो। अब भने चिनियाँ नागरिकले त्रिभुवन विमानस्थल या सीमा नाकामै ‘आगमन भिसा’ लगाएर सोझै काठमाडौं प्रवेश गर्न पाउँछन्।पब्लिक सेक्युरिटी मन्त्रालयको एक्जिट (निकास) एन्ड इन्ट्री (प्रवेश) ब्युरोद्वारा गत असार १३ मा संशोधित सूचनाअन्तर्गत नेपाललगायत ४९ मुलुक र क्षेत्रहरूमा यस्तो सुविधा दिइएको जनाइएको छ। मन्त्रालयले वैध राहदानी र टिकट मात्र भए भ्रमणमा जान पाउने उल्लेख गरेको छ।उक्त भिसा छुट नीतिबारे चिनियाँ विदेश मन्त्रालयले समेत पुष्टि गरेको बेइजिङस्थित नेपाली दूतावासका काउन्सिलर रामप्रसाद सुवेदीले बताए। तेस्रो मुलुक हुँदै नेपाल भ्रमणमा आउने चिनियाँ नागरिकले भने नेपाल-भारत नाकामा रहेका अध्यागमन कार्यालयमार्फत भिसा लिएर प्रवेश गर्न पाउँछन्।
सन् २००१ मा चीनले नेपाललाई बहिर्गमन (आउटबाउन्ड) पर्यटक गन्तव्यका लागि खुला गरेको थियो। औपचारिक रूपमा यस्तो घोषणा हुने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हो। त्यसअघि सरकारी अधिकारी र विभिन्न परियोजनासँग सम्बन्धित अधिकारीहरूले मात्र नेपाल भ्रमण गर्ने गरेको चीनका लागि पूर्वराजदूत राजेश्वर आर्चायले बताए।
सन् २०१३ मा ९ करोड ८० लाखभन्दा बढी चिनियाँले विदेश भ्रमण गरेका थिए। सन् २०१४ मा यो संख्या एक करोड बढ्ने अनुमान छ। बर्सेनि लाखौं चिनियाँहरूले चीन स्वशासित क्षेत्र तिब्बत भ्रमण गर्ने उल्लेख गर्दै चीनका लागि नेपाली राजदूत महेश मास्केले यो सहज सुविधाले ती पर्यटकलाई नेपालसम्म पुग्न प्रेरित गर्ने बताए।सन् २०१३ मा १ करोड २९ लाखभन्दा बढी पर्यटकले तिब्बत भ्रमण गरेका थिए। तीमध्ये २ लाख २३ हजारबाहेक सबै आन्तरिक चिनियाँ पर्यटक रहेको पर्यटन ब्युरोलाई उद्धृत गर्दै चाइना डेलीले जनाएको छ।चीन सरकारको खुकुलो भिसा नीतिले नेपालको पर्यटन आगमनमा समेत सकारात्मक प्रभाव पर्ने ल्हासास्थित नेपाली महावाणिज्यदूत हरिप्रसाद बस्यालले बताए। नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या बर्सेनि बढो छ।

पर्यटन गन्तव्यका लागि खुला गरिएको पहिलो वर्ष सन् २००१ मा ८ हजार ७ सय ३८ ले नेपाल भ्रमण गरेका थिए। सन् २०१३ मा यो संख्या ८९ हजार ५ सय ९ पुगेको छ।
सन् २०१३ मा चीन, तिब्बत र हङकङबाट १ लाखभन्दा बढी भिसा जारी भएको बेइजिङस्थित दूतावासले जनाएको छ। गत आर्थिक वर्षमा यी तीन नियोगबाट भिसा शुल्कबापत मात्र ३८ करोड रुपैयाँ संकलन भएको थियो।तर चीनमा पर्यटन प्रवर्द्धनका लागि गरिएको लगानी भने अत्यन्तै नगण्य छ। ‘भिसा शुल्कबाटै राम्रो आम्दानी हुने मुलुकमा सरकारले केही रकम प्रवर्द्धनात्मक क्रियाकलाप पनि खर्च गर्ने व्यवस्था हुनुपर्छ,’ सन् १९९८ देखि २००३ सम्म चीनका लागि नेपाली राजदूत रहेका आचार्यले भने, ‘पर्यटकका चालचलन र चाहना बुझेर व्यवहार गर्न सके चीनमा पर्यटनको ठूलो सम्भावना छ।’नेपाल सरकारले चीनको गोन्झाउमा पनि महावाणिज्य दूतावास खोल्ने निर्णय गरिसकेको छ। यसको कार्यान्वयन छिटो हुन सके पर्यटन प्रर्वद्धनलगायत अन्य काममा अझ सघाउ पुग्न सक्ने महावाणिज्यदूत बस्यालको भनाइ छ।चीनले पछिल्लो पटक नेपाललगायत ४९ मुलुक र क्षेत्रहरूमा आफ्ना नागरिकले अगि्रम प्रवेशाज्ञा नलिई जान सक्ने व्यवस्था गरेको हो। चिनियाँ अंग्रेजी दैनिक ग्लोबल टाइम्सका अनुसार विश्वकै दोस्रो ठूलो अर्थतन्त्र हाँक्ने देशका नागरिक विदेश भ्रमणमा जाँदा सरकारले अपनाएको भिसा नीति ‘असुविधाजनक’ र ‘असंगत’ भएको भन्दै युवा पुस्ताले सार्वजनिक सञ्जालमार्फत असन्तुष्टि जाहेर गर्दै आएका थिए।

प्रतिक्रियाहरु