चिट्ठा परे जापानमा रोजगारी !

२०७६ आश्विन १३ गते, सोमबार

काठमाडौं, १३ असोज । जापानले नेपालबाट कामदार लैजान चिट्ठा हाल्ने भएको छ । चिट्ठा अर्थात् गोलाप्रथाबाट छानिने १ हजार कामदारले भाषा परीक्षा दिन पाउने भएका हुन् । जापान फाउन्डेसनले यसअघि ‘फर्स्ट कम फर्स्ट प्रायोरिटी’लाई आधार मानेर सुरुमा आवेदन भर्ने १ हजारलाई भाषा परीक्षा दिन पाउने व्यवस्थाको तयारी गरेको थियो । तर अहिले त्यसलाई परिवर्तन गर्दै गोलाप्रथाबाट छानिने १ हजारलाई भाषा परीक्षा दिन पाउने मौका दिएको हो ।
जापान जान खोज्ने युवाको भाषा र सीप परीक्षण तथा अन्य व्यवस्थापकीय कामका लागि जापानी दूतावासले जापान फाउन्डेसनलाई जिम्मेवारी दिएको छ । परीक्षामा गोलाप्रथाबाट छानिन सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म फर्म भर्नु पर्नेछ ।
त्यसपछि गोलाप्रथाबाट छानिएका हजार जनालाई फाउन्डेसनले इमेल गर्नेछ । परीक्षा दिनका लागि छानिएका १ हजार जनाको अक्टोबर २७ देखि २९ सम्म पहिलो चरणमा तथा नोभेम्बर ५ देखि ७ मा दोस्रो र नोभेम्बर १२ देखि १४ सम्म तेस्रो चरणको भाषा परीक्षा हुनेछ । परीक्षामा ६० प्रतिशत भन्दा बढी प्राप्तांक ल्याउनेलाई मात्रै पास गरिने र उनीहरु कामदारका रुपमा जापान जान पाउनेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु