चिकित्सा शिक्षा संघर्ष समितिद्वारा पुनः आन्दोलन गर्ने चेतावनी

२०७६ फाल्गुन ८ गते, बिहीबार

काठमाडौं, ८ फागुन । चिकित्सा शिक्षा संघर्ष समितिले पुनः आन्दोलन गर्ने चर्काउने चेतावनी दिएको छ । समितिले विद्यार्थीसँग फागुन १५ गतेसम्म शुल्क बुझाउन र शुल्क नबुझाए त्यसमा ब्याज लिने धम्की दिई उक्त शुल्क नतिरे परिक्षा फारम भर्न र परिक्षामा सामेल हुन नदिने सीएमसी प्रशासनले विद्यार्थीहरुलाई नियमित वार्षिक परिक्षा नै नगराई सिधै पूरक परिक्षामा लैजाने र विद्यार्थीलाई १ वर्ष ढिला गराइदिने जस्ता गैरजिम्मेवारपूर्ण अमानविय व्यवहारप्रति संघर्ष समिति र आम विद्यार्थीहरुको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले बुधबार प्रेस विज्ञप्तिमार्फत पहिलेका आन्दोलनमा जसरी नै सहयोग गरिदिनहुन पत्रकार, बुद्धिजीवी, नागरीक अगुवाहरु र आम नेपाली जनतालाई अपिलसमेत गरेका छन् ।
चिकित्सा शिक्षा संघर्ष समितिको विज्ञप्तिमा भनिएको छ, ‘देशैभरिका चिकित्सा शिक्षाका प्रगतिशील विद्यार्थीहरुले हालसम्म अवैध अतिरिक्त शुल्क लगाएतका विषयमा विभिन्न शैलीमा संघर्ष गरिरहेका छन् । संघर्ष स्वरुप सीएमसीमा विद्यार्थीहरुले आर्थिक नाकाबन्दी गरिरहेको विषय सर्वविदितै छ । सीएमसीले तेस्रो र चौथो वर्षका विद्यार्थीबाट ३४ करोड अतिरिक्त शुल्क लिएको छ भने पहिलो र दोस्रो वर्षका विद्यार्थीबाट २२ करोड अतिरिक्त शुल्क लिएको छ । तेस्रो र चौथो वर्षको अतिरिक्त शुल्क फिर्ता साथै पहिलो र दोस्रो वर्षको अतिरिक्त शुल्क समायोजन नगरुन्जेल आर्थिक नाकाबन्दी पूर्वघोषित कार्यक्रम नै हो तर फिर्ता र समायोजन गर्ने त कता हो कता उल्टो विद्यार्थीसँग ०७६ फागुन १५ गतेसम्म शुल्क बुझाउन र शुल्क नबुझाए त्यसमा ब्याज लिने धम्की विद्यार्थी र अभिभावकलाई दिनुका साथै परिक्षा शुल्क आइ ओ एम ले तोकेको रु. २५०० मा थप रु. २५०० गरी रु. ५००० दिन दबाव दिई उक्त शुल्क नतिरे परिक्षा फारम भर्न र परिक्षामा सामेल हुन नदिने धम्की सीएमसी प्रशासनले दिइरहेको विषयमा साथै सम्बन्धित विश्वविद्यालय र डिनको कार्यालयले विद्यार्थीहरु आन्दोलन गरेबापत सजाय दिने ढंगले विद्यार्थीहरुलाई नियमित वार्षिक परिक्षा नै नगराई सिधै पूरक परिक्षामा लैजाने र विद्यार्थीलाई १ वर्ष ढिला गराइदिने जस्ता गैरजिम्मेवारपूर्ण अमानविय व्यवहारप्रति संघर्ष समिति र आम विद्यार्थीहरुको गम्भीर ध्यानाकर्षण भएको छ । राज्य र मातहतका सरोकारवाला निकाए अझै पनि विद्यार्थीको भविष्य र चिकित्सा शिक्षाका विकृतिका विषयमा गम्भीर बनेका छैनन् । विद्यार्थीको आन्दोलनले मेडिकल कलेजका मालिकहरुले विद्यार्थी, विरामी र कर्मचारीलाई गर्ने शोषण र लुटको भ्रष्ट रुपलाई आम जनताका अगाडि छरपष्ट पारिदिएको छ र उनीहरु पूर्णरुपमा नैतिक रुपमा पतन भएका छन् तर राज्यले उनीहरुलाई कारवाही गर्नुको साटो उनीहरुकै संरक्षण गरिरहेको छ ।’
संघर्ष समितिको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हर संघर्ष र आन्दोलनमा बल प्रयोगको आवश्यकताको महसुस मेडिकल कलेजको हालको रवैया र राज्यको उदासीनता साथै उनीहरुलाई दिइएको संरक्षणले पुष्टि गरेको छ । यस्तो विकराल अवस्थामा विद्यार्थीको नैतिक बलको संघर्षले मात्र निर्णायक संघर्ष गर्न नसकिने भएको हुँदा अवका दिनमा प्रतिपक्ष नेपाली काँग्रेसदेखि राज्यसत्ताका विरुद्ध शसक्त संघर्ष गरिरहेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा बल प्रयोग पूर्ण संघर्ष गर्न र सहयोग गरिदिन भनि आम विद्यार्थी र संघर्ष समिति आह्वान गर्दछ ।’
चिकित्सा शिक्षा संघर्ष समितिको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘उक्त संघर्षबाट उत्पन्न हुने हरेक डरलाग्दा परिस्थितिको जिम्मेवार मेडिकल कलेजका भ्रष्ट माफियाहरु नै हुनेछन् । उक्त किसिमका संघर्षमा पनि पहिलेका आन्दोलनमा जसरी नै सहयोग गरिदिनहुन पत्रकार, बुद्धिजीवी, नागरीक अगुवाहरु र आम नेपाली जनतालाई अपिल गर्दछौं ।’

प्रतिक्रियाहरु