चिकित्सक संघ आकस्मिक भेला गर्दै

२०७५ चैत्र २७ गते, बुधबार

काठमाडौं, २७ चैत । नेपाल चिकित्सक संघले सरकारले चिकित्सकहरुमाथि बल प्रयोग गरेको भन्दै छलफल गर्न आकस्मिक भेला बोलाएको छ । वीर अस्पतालमा टिकट काउन्टर खुलाउन प्रहरी प्रयोग गरेपछि भावी रणनीति तय गर्न आकस्मिक भेला बोलाएको हो । उपत्यकामा भएका सबै अस्पताल, मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिलाई भोलि २ बजे भेला हुन बोलाइएको महासचिव डा. लोचन कार्कीले जानकारी दिए । चिकित्सकमाथि भएको धरपकडको निन्दा गर्दै संघले समायोजनसम्बन्धि समस्याको समाधान वार्ताबाटै खोज्न पनि सरकारलाई आग्रह गरेको छ । सम्वादलाई लत्याएर चिकित्सक पेशालाई नै मानमर्दन गर्ने गरी अभिव्यक्ति दिइएको, प्रहरी लगाएर धरपकड गर्दै चिकित्सकहरुलाई चिढ्याएको चिकित्सक संघको भनाइ छ ।
सरकारले चिकित्सकलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेपछि सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण केही दिनयता सरकारी अस्पतालमा पुग्ने विरामीले भने सेवा पाएका छैनन् । बुधवार वीर अस्पतालमा प्रहरीले हस्तक्षेप गरी बन्द ताला खुलाएपछि चिकित्सकहरुले अस्पतालको प्रांगणबाटै सेवा दिएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु