चालक अनुमतिपत्र पाउन कार्यालयमै बास

२०७३ असार १२ गते, आईतवार

काठमाडौँ, १२ असार । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको मुख्य भवनको प्रवेशद्वारमा ताल्चा लगाइएको छ । प्रवेशद्वारको सामुन्ने बसेर एक युवक टिफिन बक्समा ल्याएको रोटी र तरकारी खाँदै हुनुहुन्थ्यो । बिहीबार राति ९ बजेको दृश्य हो यो । शुक्रबार बिहान कार्यालय खुलेपछि मोटरसाइकलको सवारीचालक अनुमतिपत्रको फाराम बुझाउनका लागि टोकन लिन उहाँले अघिल्लो दिनबाटै पालो कुरिरहनुभएको हो ।
तीन दिनदेखि लगातार बिहान ४ बजे आउँदासमेत फाराम बुझाउने टोकन नपाएपछि बिहीबार भने अशोकप्रसाद जैसवाल रात त्यहीँ बिताउने गरी यातायात कार्यालय पुग्नुभएको हो । एकैछिनमा उहासँगै मिसिन आउनुभयो, सिन्धुपाल्चोक बाह्रबिसेका प्रदीप कार्की । लगातार नौ दिनसम्म बिहान ४ बजे आउँदासमेत कुपन नपाएपछि उहाँ पनि राति नै टोकन बाँड्ने सुनेर रातभरि बस्न आउनुभएको हो । १२ दिनसम्म लगातार आउँदा समेत कुपन नपाएपछि गोपाल झाले पनि रातभरि यहीँ बस्ने बताउनुभयो ।
एकैछिनमा कार्यालयमै बास बस्न आउनेको सङ्ख्या तीन दर्जन नाघिसकेको थियो । दिउँसो भेटिनुभएका चितवनका सञ्जीव पौडेल मोटरसाइकल चालक अनुमतिपत्र लिनका लागि फाराम बुझाउन यातायात कार्यालय धाउन थालेको चार दिन भयो तर फाराम बुझाउनसमेत पाउनुभएको थिएन ।
तीन चार दिन धाउँदा पनि सवारीचालक अनुमतिपत्रका लागि फारामसमेत बुझाउन नपाएका सयौंँ युवा दिनभरि यातायात कार्यालयमा लाइन बस्दै फर्किंदै गर्छन् । पौडेल लाइसेन्स निकाल्नकै लागि चितवनबाट काठमाडौँ आउनुभएको हो । आफू चार दिनदेखि होटलमा बसिरहेकोे उहाँले बताउनुुभयो ।
सुर्खेतका सुशील विष्टको पनि हालत त्यही छ । नयाँ लाइसेन्स निकाल्नका लागि फाराम बोकेर यातायात व्यवस्था कार्यालय धाउन थालेको तीन दिन भयो तर पालो आउँदैन ।
टोकन वितरण गर्नेहरूले लाइनमा बसेका भन्दा पनि आफ्ना चिनजानकालाई प्र्राथमिकता दिएकाले लाइन बस्नेहरूले सहज रूपमा टोकन पाउन नसकेको सेवाग्र्राहीको गुनासो छ । त्यसमाथि लेनदेनको काम पनि हुने भएकाले लाइनमा बस्नेले प्राथमिकता नपाएको सेवाग्राही बताउँछन् । लाइनमा बसेका युवाले टोकन बिक्री भएकाले आफूहरूले पाउन नसकेको गुनासो गरे ।
सयौंँ युवाको भीडले यातायात कार्यालय परिसरमा दैनिक मेला लागेजस्तै देखिन्छ । १४ अञ्चलका यातायात व्यवस्था कार्यालयबाट सवारीचालक अनुमतिपत्र दिने व्यवस्था भए पनि हाल ती कार्यालयबाट काम नहुँदा एकान्तकुनाको कार्यालयमा सेवाग्राहीको सङ्ख्या चौगुना बढेको कार्यालयले जनाएको छ । भीड नियन्त्रण गर्न नसक्दा असार २ गते प्र्रहरीले लाठीचार्जसमेत गर्नु परेको थियो ।
यहाँबाट दैनिक झण्डै तीन सय जनाले नयाँ फाराम लिने गरेका छन् । झण्डै पाँच सय जना लाइनमा बसेर फर्किनु परेको छ । कार्यालयले बिहान ७ बजे कुपन वितरण गर्छ तर बिहानै ३ बजे पुगेकाले समेत कुपन पाउँदैनन् किनकि लाइन कुपन सङ्ख्याभन्दा दोब्बर भइसकेको हुन्छ ।
ललितपुर, सुनाकोठीका राजेश महर्जन भन्नुहुन्छ, “घरबाट बिहान ३ बजे हिँड्न थालेको दुई दिन भयो । ” उहाँको गुनासो छ, “हामीलाई कुनै सूचना दिए त लाइन बसिरहनुपर्ने थिएन, कुपन लियो पालो आउँदैन, कुनै सिस्टम छैन, आफ्ना चिनेकालाई लाइनमै नराखी सीधै भित्र लैजान्छन्, हामी त दिनभरि लाइन बस्नेमात्र हो । ” उहाँको जस्तै काममा पारदर्शिता नभएको गुनासो सबै युवाको छ ।
कर्मचारी संयन्त्रले भीडको सही व्यवस्थापन गर्न नसक्दा पनि सेवाग्र्राहीले अनायासै दुःख भोग्नु परेको छ । महर्जनले भन्नुभयो, “लाइसेन्सको फाराम बुझाउनसमेत यस्तो सास्ती छ, अझ पास भइने हो कि होइन अर्को टेन्सन छ । फेल भइयो भने त फेरि यसरी नै लाइनमा आउनुपर्ने हुन्छ, कस्तो दुःख दिएको !”
सवारीचालक अनुमतिपत्रका लागि मात्रै यस कार्यालयमा भीड भएको भने होइन । सवारीचालक अनुमतिपत्र नवीकरण, सवारीसाधनको कर बुझाउने, सवारीचालक अनुमतिपत्र हराएकोलगायतका काममा पनि उत्तिकै भीड लाग्ने गरेको छ । सवारीचालक अनुमतिपत्र नवीकरणका लागि बिहान ९ बजेदेखि लाइन बसेका नवलपरासीका हरि बस्नेतको दिउँसो १ बजेसम्म पालो आएन । नवीकरणका लागि पनि सयौँको सङ्ख्यामा लाइन हुने गरेको छ ।
बिहान ३ बजेदेखि लाइनमा बसेर फाराम बुझाएर बल्लतल्ल पास गरेपछि पनि लाइसेन्स लिनका लागि करिब डेढ महिना कुर्नुपर्ने बाध्यता छ । पाल्पा खस्र्यौलीका नारायणकुमार गैरेले कारचालक अनुमतिपत्रका परीक्षा पास गरेको डेढ महिना भयो, अझै लाइसेन्स पाउनुभएको छैन । उहाँ भन्नुहुन्छ, “साह्रै दुःख भोगियो लाइसेन्स निकाल्न । म झण्डै एक महिना त यही काममा धाएँ । पास त गरियो, अझै पाइएको छैन । ”
विभिन्न अञ्चल कार्यालयबाट नियमित काम नहुनु र स्मार्ट कार्ड वितरण गर्न थालेपछि एकान्तकुनामा एकाएक सेवाग्राहीको चाप बढेको हो । नयाँ प्रविधिमा कर्मचारीले काम गर्नु परेको र सबै प्रक्रिया (निरोगिताको प्रमाणलगायतका काम पनि) यातायात व्यवस्था विभागभित्रै गर्नु परेकाले काममा ढिलाइ हुने गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख एवं उपसचिव चेतप्रसाद उप्रेती स्मार्ट कार्डको व्यवस्था भएपछि सबै प्रक्रिया भित्रैबाट गर्नुपर्ने भएकाले पनि ढिलाइ हुन गएको बताउनुहुन्छ । नेटवर्कले पनि कहिलेकाहीँ समस्या आउने गरेको छ । उहाँ भन्नुहुन्छ, “एक दिन नेटवर्कमा डिस्टर्भ भयो भने हामीलाई करिब तीन दिनलाई थप समस्या हुने गर्छ । नेटवर्कले काम गर्न छाड्यो भन्दा सेवाग्राही यहीँ घेर्न आउँछन् । ” उप्रेतीका अनुसार स्मार्ट कार्ड प्रिन्ट गर्न यातायात व्यवस्था विभाग मीनभवनमा जानुपर्ने भएकाले पनि ढिलाइ हुने गरेकोे हो । – लक्ष्मण दर्नाल , गोरखापत्र

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु