चार दलद्धारा संविधानसभा बैठक बहिष्कार

२०७२ असार २१ गते, सोमबार

काठमाडौं, २१ असार । संविधानको मस्यौदामाथि संविधानसभामा छलफल भइरहेको छ । तर, मस्यौदाप्रति असहमति जनाउँदै चार दलले सोमबार पनि संविधानसभाको बैठक बहिस्कार गरेका छन् । बैठकको प्रारम्भमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संघीयतासहितको लोकतान्त्रिक संविधानका लागि जनताले आन्दोलन गरे पनि त्यसअनुरुपको मस्यौदा नल्याइएको भन्दै आपत्ति जनाए । उनले मस्यौदामा नागरिकताका सवालमा मधेसीमाथि अन्याय गरिएको, लैंगिक विभेद गरिएको, दलित, सीमान्तकृत वर्ग, जनजाति, महिलालगायतलाई उपेक्षा गरिएको आरोप लगाए ।
अघिल्लो संविधानसभाबाट निरुपण गरिएका र सहमति भइसकेका विषयलाई उल्ट्याएर ल्याइएको मस्यौदा तथा त्यसैका आधारमा जारी संविधानले राष्ट्रिय एकतामा असर पर्ने, मुलुकलाई द्धन्द्धतर्फ उन्मुख गराउने भएकाले यथास्थितिमा मस्यौदालाई अघि बढाउन नहुने उनको भनाइ थियो ।
अध्यक्ष यादवले तराईका सीमान्तकृत वर्गको उत्थानमा मस्यौदा मौन रहेको र आफ्ना माग सम्बोधन नगरेको भन्दै आफू नेतृत्वको फोरमसहित चार दलले बैठक बहिस्कार गरेको घोषणा गरेपछि ती दल सम्बद्ध सभासद बैठकबाट बाहिरिएका थिए ।
मधेस केन्द्रित चार दल संविधानसभाको बैठकबाट बाहिरिए पनि मस्यौदामाथिको छलफल भने निरन्तर चलिरहेको छ । छलफलमा सभासदहरुले मस्यौदालाई उपलब्धिका रुपमा लिँदै आवश्यक संशोधन गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । उनीहरुले चार दलबीच भएको १६ बुँदे सहमतिले राजनीतिक गतिरोध अन्त्य गरेको उल्लेख गर्दै अब ढिलो नगरी संविधान जारी गर्नुपर्ने बताएका छन् । सभासदहरुले नागरिकतामा महिला र पुरुषलाई समान व्यवहार गर्नुपर्ने, आमा वा बाबु दुबैको नामबाट नागरिकता पाउनुपर्ने, स्थानीय निकायको चुनाव संविधानमा नै तोक्नुपर्ने, वडा अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुन्ने व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु