चार कम्युनिस्ट पार्टी र जनगणतान्त्रिक मोर्चा एकजुट , वैशाख २७ गते संयुक्त विरोधसभा

२०७६ बैशाख ११ गते, बुधबार

काठमाडौ, १० वैशाख । चार कम्युनिस्ट पार्टी र संगठनका प्रतिनिधीले यहि वैशाख २७ गते राजधानिमा संयुक्त विरोधसभा गर्ने भएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), रिषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आज संयुक्त विज्ञप्ती जारी गरी बिभिन्न ६ बुदे माग सहित २७ गते शान्तिवाटिकामा विरोधसभा गर्ने निर्णय गरेको हो ।
चार पार्टी र मोर्चाको मंगलवार बसेको संयुक्त बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि राजनीतिक पूर्वाग्रहका आधारमा सरकारले प्रतिबन्ध लगाएको भन्दै उक्त प्रतिबन्धलाई खारेज गर्न माग गरेको छ ।
साथै गृहमन्त्रालयको सर्कुलरका आधारमा वितरण गरिएको वंशजको नागरिकता रद्ध गर्न र संसदमा पुगेको नागरिकतासम्बन्धि संशोधन प्रस्तावलाई फिर्ता लिन समेत माग गरेको छ ।
बैठकपछि जारी संयुक्त विज्ञप्तीमा जन्मका आधारमा नागरिकता भएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिनका लागि सत्ता पक्षबाट चालु संसदमा प्रस्तुत संशोधन प्रस्ताव विचाराधीन रहेकै अवस्थामा गृहमन्त्रालयले सर्कुलर जारी गर्दै वंशजको नागरिकता वितरण गरिएकोप्रति भत्सना गर्दै उनीहरुले संशोधन प्रस्तावलाई फिर्ता लिई उक्त सर्कुलरका आधारमा वितरण गरिएका नागरिकता रद्ध गर्न माग गरिएको छ ।
यस्तै भारतले तयार पारेको नक्कली नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा गाभेर नेपालको ३ सय ७२ वर्ग किलोमिटर जमिन गायव पारिएको भन्दै उक्त नक्सामाथि प्रतिवन्ध लगाएर नेपाल सरकार आफैले आफ्नो सुरक्षित भएको नक्सा तयार पार्न पनि माग गरेको छ ।
यसैगरी वाइडबडी विमान प्रकरणमा संलग्न भ्रष्टाचारीहरु तथा हालै प्रधानमन्त्री निवाससहित वालुवाटारको जग्गा व्यक्तिका नाममा लैजाने भ्रष्टाचार काण्डमा संलग्न सबैलाई कारवाहिको पनि माग गरेको छ । भने एनसेलले तिर्न बाकीँ अरबौं रुपैया कर तत्काल उठाउन पनि माग गरेको छ ।
३८ क्वीन्टल र साढे ३३ किलो सुन तस्करीमा संलग्न र कन्चनपुर भीमदत्त नगरपालीकाकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यालाई सार्वजनिक गर्न समेत माग गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका सुलभ, नेकपा(क्रान्तिकारी माओवादी)मा मोहन वैद्य (किरण), नेपाल कम्युनिस्ट पार्टीका रिषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का कर्णजीत बुढाथोकी र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका तर्फबाट सिपी गजुरेलद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उक्त मागहरु सबैको साझा भएकाले षंघर्षमा सामेल हुन सबै जनपक्षिय शक्ति र व्याक्तिहरुलाईस अपिल समेत गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु