चाँदनी सात तले गुफा ओझेलमा

२०७१ असार २१ गते, शनिबार


काठमाडौँ । ऐतिहासिक महत्व रहेको सल्यान लेकपोखरा १ मा रहेको चाँदनी ७ तले गुफा ओझेलमा परेको छ । सल्यान लान्तीबजारदेखि करिव १ किलोमिटर पूवतिर रहेको चाँदनी ७ तले गुफाको बारेमा न त अधिकांशलाई थाहा छ न त यसको संरक्षण र विकास हुन सकेको छ । सातवटा तला रहेको यस गुफामा अहिले ३ तलासम्म जान सकिन्छ । ‘मेरो बाबुबाजे त ७ तलासम्म जानुभएको हो रे, उहाँहरुले नै गुफा पत्ता लगाउनुभएको हो, हामी भने अहिले ३ तलासम्म जान सक्छौँ ।’ स्थानीय बुद्धिमान पुनले भने- ‘तर यसको संरक्षणमा कसैले पनि चासो नदिँदा यस्तो महत्वपूण् गुफा ओझेलमा परेको छ । विक्रम संवत २०६५ सालमा लेकपोखरा गाविसको गाउँ परिषद्ले गुफा वाहिर सामान्य गेट निर्माण र चाँदी जस्तै टल्कने भएकाले ‘चाँदनी ७ तले गुफा’ नामाकरण गर्नेवाहेक गुफाको संरक्षण र विकासमा कुनै काम हुन नसकेको यामबहादुर पुनले जनाए । करिव ५० मिटर लम्बाइ, २० मिटर चौडाइ र ३० मिटर उचाइ रहेको चाँदनी गुफामा ढुंगाको बज्ने मादल, विभिन्न देविदेवताका आकृती रहेको र गाईको थुन जस्तो आकृतिबाट दूध जस्तै सेतो तरल पदार्थ झर्ने गरेको गाविस सचिव लोकबहादुर केसीले जनाए । यसको साथै गुफाको वरिपरि पनि रमणीय तथा अनौठा स्थल रहेको स्थानीयहरुले जनाएका छन् । ‘गुफाको नजिकै सिद्धबाबाको मन्दिर छ, साथमा नजिकै रहेको खोविल्टो परेको गाबुजस्तै ढुंगोमा जति पानी निकाले पनि रित्तिँदैन स्थानीय ध्वजबहादुर पुनले भने- ‘नजिकैमा ढकढके ढुंगा पनि छ, यसले पनि गुफाको महत्वलाई झनै बढाएको छ ।’ सबै सम्बन्धित निकायले चासो दिएर यस गुफाको संरक्षण विकास र प्रचार-प्रसारमा अग्रसरता देखाएमा लेकपोखरामा रहेको चाँदनी सात तले गुफा पर्यटकीय क्षेत्र बन्न सक्ने स्थानीयको भनाइ छ । पछिल्लो समय स्थानीयहरुले गुफालाई राष्ट्रियस्तरसम्म चिनाउनुपर्छ भनेर सक्रिय भएका छन् भने सम्बन्धित निकायले गुफाको विकासमा चासो नदेखाएकोमा चिन्तित भएका छन् ।

प्रतिक्रियाहरु