चरन बन्दै बहुमूल्य जडीबुटी

२०७० चैत्र २८ गते, शुक्रबार


काठमाडौ, २८ चैत । सुर्खेतको पश्चिम क्षेत्रका डाँडाहरुमा प्रशस्त मात्रामा पाइने बहुमूल्य जडीबुटी संरक्षणको अभावमा गौचरनमा परिणत हुन थालेका छन् । जैविक विविधताले भरिपूर्ण चौकुने पहाडका आसपासमा पाइने दुर्लभ जडीबुटीको वैज्ञानिक अनुसन्धान र सही उपयोग नहुँदा करोडौँको सम्पत्ति छाडा चौपायाको चरन बनेको हो ।अहिलेसम्म त्यस क्षेत्रका नागरिक बहुमूल्य जडीबुटीको बारेमा अनविज्ञ हुनु र सरकारीस्तरबाट समेत कुनै अध्ययन, अनुसन्धान हुन नसक्दा हजारौँ हेक्टरमा फैलिएको राष्ट्रिय र सामुदायिक वनभित्रको बहुमूल्य जडीबुटी गाई, भैँसी र बाख्राको चरन बन्न पुगेको स्थानीयवासीको भनाइ छ ।
आफ्नो क्षेत्रमा बहुउपयोगी जडीबुटी प्रशस्त मात्रामा पाइने भए पनि राज्यको ध्यान नपुग्दा खेर गइरहेको भन्दै गुठु गाविसका बासिन्दाले प्रशोधन केन्द्र स्थापना गर्न सरकारसँग मागसमेत गरेका छन् । वन सम्पदाबारे यस क्षेत्रतर्फ आजसम्म सरकारीस्तरबाट खोज र अनुसन्धान नहँुदा त्यहाँका बहुमूल्य जडीबुटी छाडा गाई-भैँसीको आहार बनेको बन्डाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर सलामीले बताए । गठु घुम्न पुग्ने अधिकांश विदेशी पर्यटकहरुले जैविक विविधता भरिपूर्ण त्यस क्षेत्रलाई भगवान्को सुन्दर उपहारको संज्ञा दिएको भन्दै सलामीले पश्चिम क्षेत्र दुर्लभ बहुमूल्य जडीबुटीको भण्डारसमेत रहेको दाबी गरे ।
समुद्री सतहबाट ४०० देखि एक हजार ७२७ मिटर उचाइमा रहेको त्यस क्षेत्रको जङ्गलको क्षेत्रफल करिब पाँच हजार ५०० हेक्टर छ । त्यहाँ पहाडी क्षेेत्रमा पाइने विभिन्न जातिका वनस्पति र वन्यजन्तुसमेत पाइन्छ । त्यस क्षेत्रमा सबैभन्दा बढी पाइने वनस्पति टिमुर हो । यसबाहेक काउलो, तेजपत्ता, दालचिनी, समयो, जटामसी, सुनाखरी, विषरा, सतुवा, सुनगाभा, भुतले, कुटकी, बोजो, चिराइतो, जामुने, मान्द्रो, लोठ सल्ला, उकु डाइना, सतुवा, कुरिलो, पाखनबेत, वनलसुन, शिलाजितलगायत बहुमूल्य जडीबुटी अधिक पाइने स्थानीय बासिन्दाको भनाइ छ ।
सुनाखरी सिटामोल लगायतका औषधि उत्पादन गर्ने अत्यावश्यक जडीबुटी हो । गाउँले बिमारी पर्दा ती जडीबुटीको कुनै न कुनै रुपमा प्रयोग गर्दै आएका भए पनि यसको व्यावसायिक उपयोग हुन सकेको छैन । टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने तथा रक्तचापका बिमारीका लागि स्थानीय बासिन्दाले त्यहाँका जडीबुटीको प्रयोग गर्दै आएको स्थानीय समाजसेवी देवबहादुर थापाले बताए ।

प्रतिक्रियाहरु