चन्द्रमामा वस्ती बसाउने सपना !

२०७२ श्रावण २ गते, शनिबार

काठमाडौँ । प्राध्यापक जोहान डिट्रिख वर्नर हाल युरोपेली अन्तरिक्ष एजेन्सीका महानिर्देशक हुन् । वाषिर्क ४।४ अर्ब युरो बराबरको बजेट रहेको उक्त संस्थाका महानिर्देशक बन्नुभन्दा पहिला उनी जर्मन स्पेस एजेन्सीका प्रमुख थिए । तर अब उनको कामको दायरा फराकिलो बनेको छ । युरोपमा निगरानी, मौसम, संचार, स्याटेलाइटको उडान, अन्तर्राष्ट्रिय अन्तरीक्ष स्टेशनका वैज्ञानिकहरु, मंगल, बुध तथा वृहस्पती ग्रहको अभियान लगायतका सम्पूर्ण कार्यहरु सम्बन्धि जिम्मेबारी उनकै हो ।
युरोपेली अन्तरीक्ष एजेन्सीमा रहँदाको आफ्नो सपनाका विषयमा वर्नरले बीबीसीसँग अनौठो खुलासा गरेका छन् । उनका अनुसार युरोपेली स्पेस एजेन्सीले अन्तरिक्षमा अन्तर्राष्ट्रिय अन्तरीक्ष स्टेसनभन्दा अगाडि बढेर अर्काे योजनामा काम गरिरहेको छ । ‘हामीहरु पृथ्वीबाट नजिकको कक्षवाला क्षेत्रमा माइक्रो ग्राभिटीको अनुसन्धानको लागि सानो अन्तरीक्षयान स्थापित गर्ने बारेमा सोँचिरहेका छौँ । त्यसका साथै चन्द्रमाको एउटा टाढाको भागमा एक वस्ती बसाउने प्रस्ताव पनि राखिएको छ’, आफ्नो भावी योजनाको बारेमा खुलासा गर्दै उनले भने । छक्क पर्नुभयो हैन ? चन्द्रमामा वस्ती बसाल्ने कुरा नै अनौठो छ । यस्तै खालको सपना अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले सन् १९६० को दशकदेखि देख्न सुरु गरेको थियो । तर पछि राजनीतिक पक्षबाट साथ नमिलेपनि नासाले आफ्नो यो विचारलाई पछाडि छोडेको थियो ।
वर्नरका अनुसार चन्द्रमामा गाउँको अर्थ यो होइन की केही घर, चर्च तथा सहर तत्कालै बनाइन्छ । त्यो गाउँ यस्तो हुनेछ जसमा पूरै विश्वको मद्धतबाट रोबोटिक तथा अन्तरीक्ष मिसनलाई अघि बढाइनेछ र संचारको क्षेत्रमा काम गरिरहेका स्याटेलाइटको मद्धतबाट भिन्न भिन्न किसिमका प्रयोग समेत गरिनेछ ।
आफ्नो यस विचारका सम्बन्धमा प्रष्ट पार्दै वर्नरले भनेका छन्– ‘चन्द्रमाको टाढाको हिस्सा निकै रोचक छ । त्यहाँबाट हामीले अन्तरीक्षमा टाढासम्म टेलिस्कोप लगाएर जानकारी पाउन सक्छौँ । अमेरिकाले छिटै मंगल ग्रहसम्म जाने सोँच बनाइरहेको छ । हामीले यस्तो कहिले गर्नसक्छौँ ? मंगलमा जानुभन्दा पहिले हामीले सोही प्रयोग चन्द्रमामा गर्नु आवश्यक छ ।’ वर्नरले उदाहरण दिँदै भनेका छन् की नासाले मंगल ग्रहमा एउटा विशाल थ्री डी प्रिन्टर वाल बेस बनाउन चाहन्छ । युरोपेली अन्तरीक्ष एजेन्सीले सोही काम चन्द्रमामा गर्न सक्छ ।
यद्यपि अन्तरीक्षको कुनै दुनियामा बस्ने कल्पना निकै कठीन चुनौति हो । तर अब अन्तरीक्ष पृथ्वीबाट केवल ४ दिन मात्रको दूरीमा छ । वर्नर चन्द्रमामा आफ्नो वस्तीको कल्पनाको सम्बन्धमा रुसी तथा चिनिया अन्तरीक्ष अभियानलाई पनि सामेल गर्न सकिने बताउँछन् । उनका अनुसार यसका लागि अन्तर्राष्ट्रिय स्तरमा सहयोगको खाँचो छ । कुनै रोकतोक विना नै जतिपनि देश यो अभियानमा जोडिन सक्छन् । अन्तरीक्षले नै विश्वका कतिपय देशहरुका बीचमा रहेका आपसी समस्यालाई भुलेर विश्वलाई एक ठाउँमा ल्याउन सक्ने तर्क उनको छ । अन्तरीक्ष अभियानमा कुनैपनि देशलाई अलग राख्नु ठीक नभएको भन्दै उनले चिनिया अन्तरीक्ष कार्यक्रममा सहभागी नहुने अमेरिकी कदमको पनि आलोचना गरेका छन् ।
अन्तरीक्ष अनुसन्धानमा हुने विशाल खर्चको विषयलाई लिएर निकै आलोचना हुने गरेको छ । तर वर्नर पनि यस्तो आलोचनाको खण्डन गर्छन । उनका अनुसार अनुसन्धान र त्यसको व्यवहारिक प्रयोगका बीचमा कुनै पर्खाल हुँदैन । अहिले सबैभन्दा चर्चा र चासोको विषय बनेको हरितगृह ग्यासको अनुसन्धानमा समेत अन्तरीक्षयानको प्रयोग भएको भन्दै उनले बुध ग्रहको अभियानका बेला हरित गृह ग्यासको विषयमा पहिलोपटक पत्ता लागेको बताए । भलै अहिलेसम्म चन्द्रमामा वस्ती विकशित गर्ने विचार केवल विचारमै सिमित रहँदै आएको छ ।
यस विषयमा कसैले कुनै प्रस्ताव दिएको छैन । कोही देश वा कोही अन्तरीक्ष एजेन्सीले यसका लागि पैसा खर्च गर्ने कुरा पनि गरेको छैन र कसैले यस विषयलाई काम गर्नका लागि सहमती पनि दिइसकेको छैन । तर एउटा कुरा जगजाहेर छ की अन्तरीक्ष अनुसन्धानको केन्द्रमा चन्द्रमा एकचोटी फेरि फर्किदैछ । वर्नर भन्छन्, ‘यदि यस विषयमा कसैले उत्तम आइडिया दियो भने म निकै खुसी हुनेछु ।’–बीबीसी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु