चन्द्रमामा पनि भूकम्प !

२०७६ जेष्ठ २ गते, बिहीबार

काठमाडौं, २ जेठ । भुइँचालो पृथ्वीमा मात्र जाँदैन। चन्द्रमामा पनि धेरै भूकम्प जाने गरेको वैज्ञानिकहरुले बताएका छन् । चट्टानले बनेको साथै त्यहाँ भौगर्विक गतिविधि निकै कम हुने गरेपनि चन्द्रमामा धेरै भूकम्प जाने गरेको उनीहरुले बताएका छन् । यतिबेला चन्द्र सतहमा चकम्प (चन्द्रमा कम्प) अर्थात भुकम्प गइरहेको छ। चन्द्रमामा जाने भूकम्पलाई मुनक्वेक भनेर चिनिन्छ भने त्यो ४ प्रकारका हुन्छन् । सूर्यको तापले हुने, उल्काहरुका कारण हुने भूकम्प र डिप क्वेक सामान्य हुने भएपनि स्वालो मुनक्वेक भने खतरनाक हुने गरेको छ । स्वालो मुनक्वेक ५ दशमलव ५ रेक्टर स्केलसम्मको हुने र यसको कम्पन १० मिनेटसम्म रहन सक्ने वैज्ञानिकले बताएका छन् ।
अमेरिकी अन्तरिक्ष निकाय नासाले १२ हजारवटा तस्वीरको अध्ययन गरेर पृथ्वीको एक मात्र उपग्रह चन्द्रमा लगातार खुम्चिँदै गएको निष्कर्ष निकालेको छ । नासाकाे अनुसार चन्द्रमाको भित्री सतह चिसिँदै गएकाले खुम्चिँदै गएको हाे । अहिलेसम्म चन्द्रमा ५० मिटरजति खुम्चिसकेकाले नै त्यहाँ चकम्प अर्थात भुइँचालो गइरहेको नासाले जनाएको छ।
नासाका अनुसार चन्द्रमाको सतहमा दरार देखापर्न थालेका छन्, जसका कारण मानिसको अनुहारमा चाउरी परे जस्तो चन्द्रमामा पनि चाउरी परेको छ । नासाले लुनार रिकोनेसा अर्बिटरबाट लिइएको तस्वीरको अध्ययन गरेर यसको जानकारी सोमबार प्रकाशित रिपोर्टमा दिएको हो । तस्वीर विश्लेषणपछि नासाले चन्द्रमाको उत्तरी ध्रुवनजिक मारे फ्रिगोरिसमा चिरा परेको र त्यो आफ्नो ठाउँबाट घर्किएको जनाएको छ । चन्द्रमामा टेक्टोनिक प्लेट हुँदैन तर त्यहाँ पनि टेक्टोनिक गतिविधि भेटिएकाले वैज्ञानिकहरू आश्चर्यमा परेका छन् । वैज्ञानिकहरूका अनुसार, चन्द्रमामा यस्ता गतिविधि ऊर्जा गुमाउने प्रक्रियाअन्तर्गत साढे ४ अर्ब वर्षअघि भएको थियो । यसले गर्दा चन्द्रमाको सतहमा किससिममा जस्तो चाउरी पर्ने गर्छ । प्रक्रिया चल्दा चन्द्रमामा भूकम्प आउँछ । ऊर्जा गुमाइरहेका कारण चन्द्रमा विगत लाखौं वर्षयता लगभग १५० फीट खुम्चिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु