घुस्याहा प्रहरी रंगे हात समातिंए

२०७१ श्रावण ७ गते, बुधबार


काठमाडौं । मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाको प्रहरी टोलीले हेटौडा बसपार्कको अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) देवलाल यादब १५ हजार रुपैयाँ घुस सहित समातेको छ ।भारतको रक्सौलबाट भन्सार छलेर ल्याएको किराना सामान र लत्ता कपडा छुटाइदिन १५ हजार रुपैयाँ लिदै गर्दा उनलाई मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाको प्रहरी टोलीले पक्राउ गरेको हो । बारम्बार यस्तै काम गरेको जानकारीका आधारमा एक जना नक्कली ब्यापारीलाई घुस दिन्छु सामान छुटाइदिनुपर्छ भन्न लगाएर १५ हजार रुपैयाँको बन्दोबस्त गरी यादवलाई पक्राउ गरिएको हो ।मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रकाश अर्यालले आफैले नोटको नम्बर टिपेर यादवलाई १५ हजार रुपैयाँ घुसको बन्दोबस्त गर्नुभएको थियो । अहिले यादवलाई अहिले कारबाहीका लागि मध्यक्षेत्रीय प्रहरी कार्यालयमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बालनरसिंह राना पनि लागू औषध गाँजा पथलैयासम्म पास गरिदिन लाग्दा कारबाहीमा परे । मकवानपुरको विकट गाविसमा उत्पादन भएको गाँजा पास गरिदिने नाममा त्यहीँ कार्यरत सिपाही मार्फत रकम असुल गरेको पुष्टी भएपछि उनलाई पनि मध्य क्षेत्रीय प्रहरी कार्यालयमा तानियो । अहिले उनीमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको मध्यक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।तराइका जिल्लामा भैझगडा मिलाइदिने नाममा र गाडीम तेल हाल्न भन्दै रकम असुल्ने प्रवृत्ति बढेपछि यस्ता प्रहरीको पहिचान गर्न कार्यालयले सादा पोशाकका प्रहरीलाई सेवाग्राही बनाएर पठाउने गरेको छ । घुस लिएको पुष्टी भएमा समातेर कारबाही गरिएको छ । पछिल्लो समयमा चेकिङका नाममा रकम असुल गर्ने क्रम बढेपछि त्यसको पनि प्रमाण फेला पारेर कारबाही सुरु भएको छ ।
डिआइजी अर्याल हेटौडामा आएको ६ महिनामा बिभिन्न अनियमितता गर्ने ४३ जना प्रहरी कारबाहीमा परेका छन् । उनीहरु सबैजसो घुस लिएको आरोपमा समातिएका हुन् । कारबाहीमा पर्नेमा प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म रहेका छन् । पहिले सबैजसो प्रहरी कार्यालय र चौकीहरुमा अनियमितता नगर्न डिआइजी आफै गएर सम्झाएपनि नरोकिएपछि ती ठाउँमा सेवाग्राहीको भेषमा सादा पोशाकका प्रहरी पठाएर अनियमितता पुष्टी गरी पक्राउ गर्ने गरिएको छ । एउटा प्रहरीले गरेको अनियमितता पुष्टी गर्न १५ दिनदेखि एक महिनासम्म लागेको प्रहरी नायब महानिरीक्षक अर्यालले बत्ताए । पक्राउ परेका ४३ जना प्रहरीमध्ये २२ जना निलम्बनमा परेका छन् भने अरु कारबाहीकै चरणमा छन् । मध्य क्षेत्रका १६ जिल्लामा सञ्चालन गरिएको यो अभियानबाट प्रहरी भित्रैबाट अनियमितता गर्ने क्रम भने केही हदसम्म हटेको उनको भनाइ छ । कार्यालयले प्रहरी आचरण विपरित काम गर्ने ५ सय ८१ जनालाई विभागीय कारबाही गरेको छ । नागरिकको सेवा गर्न भर्ती भएका प्रहरीभित्र नराम्रो काम गर्ने क्रम बढेपछि त्यसलाई रोक्न अभियान सुरु गरेको अर्यालको भनाई छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार