घाट पुर्याइएका शिशु जिवित भन्दै अस्पताल फिर्ता

२०७६ बैशाख २३ गते, सोमबार

काठमाडौं, २३ बैशाख । एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काई फेरि अस्पताल ल्याइएको छ । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौँडा घर भएकी एक अविवाहिता युवतीले अस्पतालमा शिशु जन्माएकी थिइन् । शिशुको मृत्यु भएको भनी परिवारजनले देवघाटमा अन्त्येष्टिका लागि तयारी गर्दै गर्दा स्थानीयवासीले जिवितै देखेपछि शिशुलाई अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए ।
त्यसको लगत्तै शिशुकी हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता रेग्मीले बताए । शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । युवती अविवाहिता भएकीले उनको नाम र ठेगाना गोप्य राखिएको उहाँको भनाइ छ । उक्त शिशुको सोमबार अपराह्न १२ः३०मा निधन भएको अस्पताल स्रोतले जनायो । – रासस

प्रतिक्रियाहरु