घर मै बसेर स्नातक तथा स्नातकोत्तर गर्ने भए

२०७६ असार १९ गते, बिहीबार

काठमाडौं, १९ असार । नेपाल खुला विश्वविद्यालय व्यबस्थापन तथा कानून संकाय डीनको कार्यालय मानभवन ललितपुरले व्यबस्थापन र कानून संकायका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न संकायमा भर्ना खुलाएको छ । अरु विश्वविद्यालयमा कानून संकायमा भर्ना हुन नपाइरहेका बेला विद्यार्थीका लागि यो ठूलो राहत हुने छ । भर्नाका लागि आवेदन दिने अन्तिम मिति असार २७ गतेसम्म तोकिएको छ ।
सरकारले २०७२ मा नेपाल खुला विश्वविद्यालय ऐन जारी गरेर विश्वविद्यालय स्थापनाको बाटो खोलेको थियो ।
एनओयूअन्तर्गत सामाजिक तथा शिक्षाशास्त्र, व्यवस्थापन र कानुन, विज्ञान, स्वास्थ्य र प्रविधि गरी तीन संकाय छन् । यी संकायअन्तर्गत १५ वटा कार्यक्रम सञ्चालन गरिएको छ । एकवर्षे कोर्सअन्तर्गत डिप्लोमा इन लाइब्रेरी इन्फर्मेसन म्यानेजमेन्ट र पीजीडी इन ई–लर्निङ छन् । सामाजिक संकायमा डेढवर्षे एमफिलअन्तर्गत अर्थशास्त्र, राजनीतिशास्त्र र समाजशास्त्र छन् ।
शिक्षाशास्त्र संकायअन्तर्गत एमफिलमा नेपाली, अंग्रेजी, गणित, शिक्षा, स्वास्थ्य र समाज विज्ञान छन् । दुईवर्षे कोर्समा मास्टर्स इन ई–गभर्नेन्स पढाइ भएको छ भने डेढवर्षे एमफिल इन आईसीटी पढाइन्छ । ६ महिनाको एक सेमेस्टर हुन्छ । एकवर्षे कोर्स पढ्नेले कम्तीमा ३० क्रेडिट आवरको दुई सेमेस्टर पढेर परीक्षा दिनुपर्छ । दुईवर्षे कोर्सले ६३ क्रेडिट आवर र एमफिल आईसीटीको ३९ क्रेडिट आवर छ ।
विश्वविद्यालयले ललितपुरको पाटन क्याम्पस, कैलाली बहुमुखी क्याम्पस धनगढी, कोहलपुरको बागेश्वरी क्याम्पस, पोखराको जनप्रिय क्याम्पस र इटहरीको जनता क्याम्पसमा सम्पर्क तथा परीक्षा केन्द्र तोकेको छ । उपकुलपति शर्माका अनुसार कक्षा १२ पास गरेर बसेका विद्यार्थीले क्रेडिटका आधारमा ३ महिने र ६ महिने कोर्स पढ्न पाउँछन् । कोर्सअनुसार न्यूनतम १५ हजारदेखि अधिकतम १ लाख ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।

प्रतिक्रियाहरु