गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा

२०७४ श्रावण १० गते, मंगलवार

काठमाडौं , १० साउन । जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ । काठमाडौंको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन् ।
गोसाइँकुण्ड पुग्न पर्यटकीय मार्ग तथा प्रकृतिको सुन्दरतासँग रमाउन चाहनेलाई यसअघिदेखि नै कायम रहेको काठमाडौंको सुन्दरीजलबाट पैदलमार्फत चिसापानी, कुटुङसाङ, भंगिनगोठ, छहरेपाटी, घोप्टेभिरको फेदी हुँदै सूर्यकुण्ड÷गोसाइँकुण्ड पुग्ने पदमार्ग मर्मत तथा व्यवस्थित गरी सञ्चालनमा ल्याएको लाङ्टाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाले जानकारी दिए ।
सुन्दरीजलबाट विश्राम गर्दै दुई दिनमा गोसाइँकुण्ड पुग्ने यो पदमार्गलाई जनैपूर्णिमाको अवसरमा लाग्ने मेलालाई दृष्टिगत गरी व्यवस्थित गरेर सञ्चालनमा ल्याएपछि तीर्थयात्रीको आगमनसमेत शुरु भइसकेको छ । यो पदमार्ग तीन वर्षदेखि सञ्चालनमा छ ।
यस्तै, विदुर नगरपालिका–५ गगटेबाट खरानीटार, समुन्द्रटार, रामती, घ्याङ्फेदी तालुकसेरी हुँदै फेदी निस्केर सूर्यकुण्ड÷गोसाइँकुण्ड पुग्न सक्ने व्यवस्थाको अर्को मार्ग पनि सञ्चालनमा आएको छ ।
स्थानीय होमस्टे समिति, लाङ्टाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका उपसमितिहरु, आमा समूहलगायतसँग समन्वय गरी पदमार्गमार्फत गोसाइँकुण्ड पुग्न सुरक्षित व्यवस्था मिलाएको होटल व्यवसायी सरोकार समितिका सचिव मिङ्मा शेर्पाको भनाइ छ छ ।
सुन्दरीजलबाट नुवाकोट हुँदै गोसाइँकुण्ड पुग्न दुई दिन लाग्ने भए पनि नुवाकोटको समुन्द्रटारबाट जाँदा एक दिनको पैदल यात्रामा पुग्न सकिने गरी आवतजावतको व्यवस्था मिलाइएको सरोकार समितिले जनाएको छ । गंगटेबाट ३५ किमी दूरीमा रहेको समुन्द्रटार सवारीसाधनमा नै जान सकिन्छ ।
पैदलमार्फत गोसाइँकुण्ड जाने तीर्थयात्रीका लागि सुरक्षा, खाद्यान्न, पथ–प्रदर्शक, भरिया, औषधि उपचारलगायतको समेत व्यवस्था मिलाएकाले निर्धक्क भएर गोसाइँकुण्ड यात्रा गर्न समितिले आह्वान गरेको छ । तीर्थयात्रीका लागि सुरक्षा बन्दोबस्तमा सुरक्षाकर्मी नियमितरुपमा परिचालन भइरहेको र धुञ्चेबाट एकैपटक ठाडो उकालो लागेर उचाइमा पुग्दा लेक लाग्न सक्ने भएकाले सुन्दरीजलबाट नुवाकोटको घ्याङ्फेदी हुँदै गोसाइँकुण्ड जाँदा उकालो क्रमशः चढ्दै जाने हुँदा यो मार्ग स्वास्थ्यका दृष्टिकोणले समेत उपयुक्त मार्गका रुपमा रहेको स्थानीय व्यवसायीले बताएका छन् ।
समुन्द्रटार पदमार्ग सञ्चालनमा आएको तीन वर्ष र सुन्दरीजल पदमार्ग सञ्चालनमा आएको दुई वर्ष भएको छ । उक्त मार्ग हुँदै पहिलो वर्ष विसं २०७१ मा दुई हजार, २०७२ मा तीन हजार र २०७३ मा पाँच हजार तीर्थयात्री गोसाइँकुण्ड गएकाले यसवर्ष १० हजार तीर्थयात्रीलाई लक्षित गरी खाना, खाजा तथा बास बस्ने व्यवस्था, भरिया, पथ–प्रदर्शकलगायतको बन्दोबस्ती मिलाइएको होटल व्यवसायीले बताएका छन् ।- रासस

प्रतिक्रियाहरु