गोसाइँकुण्डमा मेला भर्नेको भीड

२०७२ भाद्र १२ गते, शनिबार

काठमाडाैँ, १२ भदाै । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–११ स्थित गोसाइँकुण्डमा आज बिहानदेखि जनैपूर्णिमा मेला लागेको छ । सो मेलामा रक्षाबन्धन गर्ने भक्तजन र तागाधारीले जनै फेर्न भीड लागेको हो । वर्षौंदेखि जैनपूर्णिमाका दिन मेला लाग्दै आएको सो स्थानमा भगवान् शिवले एकरात बिताएको र त्यहाँ गएर दर्शन तथा पूजाआजा गर्नाले मोक्ष प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ । पण्डित प्रकाश ढुङ्गेलले आजको दिन गोसाइँकुण्डमा २१ कुलपृत्रीको समेत उद्धार हुने धार्मिक विश्वास रहेको बताए ।
सो स्थानबाट पवित्र नैमिषारण्या क्षेत्रसमेत नजिकै पर्छ यसबाहेक जिल्लाको पोखरी नारायण स्थानलगायतका शक्तिपीठमा पनि जनैपूर्णिमाको अवसरमा भीडभाड बढेको छ । सो स्थानमा बनेपाको पुडोलबाट झन्डै आधा घन्टा पैदलयात्रामा पुगिन्छ ।
यसैगरी, आज बिहानैदेखि ललितपुरको बङ्गलामुखीस्थित कुम्भेश्वरमा हजारौँ दर्शनार्थी मेला भर्न लामबद्ध भएका छन् । जनैपूर्णिमाको दिन सो स्थानमा मेला भर्न स्थानीय पाटनवासी, चापागाउँ, हरिसिद्धि, ठैव, धापाखेल, सुनाकोठी, बुङ्मती, खोकना, गोदावरीलगायत उपत्यकाका विभिन्न स्थानबाट दर्शनार्थीको भीड लाग्ने गरेको छ । मेला भर्न गएका भक्तजनले त्यहाँ स्नान गर्ने, रक्षा बन्धन बाँध्ने, जनै फेर्ने, पूजा गर्ने चलन रहँदै आएको छ ।
बिहानैदेखि भक्तजनलाई टीका लगाई हातमा रक्षा बन्धन (डोरो) बाँध्ने काममा ब्राह्मण पुरोहितको लाम नै लाग्ने गरेको दृश्य देख्ने गरिन्छ । त्यहाँँ आएका भक्तजन कोही त्यहाँ रहेको धारामा त कोही पोखरीमा स्नान गरेको दृश्य पनि देख्न सकिन्छ, त कोही पूजा गर्न लामबद्ध भएर बसेका देख्न सकिन्छ ।
आजकै दिन तामाङ समुदायका झाँक्री (बोम्बो) ले ढ्याँङ्ग्रो बजाउँदै नाचगान गर्ने चलन मेलाको अवसरमा गर्ने गरिन्छ । लामबद्ध रुपमा आफ्नो धर्म संस्कृति जोगाउन उनीहरु जिल्लाकै दुर्गम गाउँहरु कालेश्वर, शङ्खु, गोटीखेल, माल्टालगायतका स्थानबाट आउने गर्छन् ।
दिनभरि नै कुम्भेश्वरको मेलामा भाग लिन टाढाटाढाबाट भक्तजन आउने गरेको स्थानीय अमीर बज्राचार्यले बताउनुभयो । यहाँ स्नान गरी पूजा गरेमा परिवारमा सुख शान्ति मिल्ने उहाँको तर्क रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार