गोली लागेकी महिलाले बच्चा जन्माइन्
काठमाडौं, २८ माघ । भारत स्वसाशित क्षेत्र काश्मिरमा गोली लागेर घाइते भएकी एक महिलाले घाइते अवस्थामै एक बालिकालाई जन्म दिएकी छिन् ।बन्दुकधारीहरुले गोली हानेपछि सैनिक अस्पतालमा भर्ना भएकी ती महिलाले शनिबार अस्पतालमै बालिका जन्माएको भारतको सैनिक स्रोतले जनाएको छ । पाराम्जीत कउर नाम गरेकी ती महिला र उनकी छोरीको अवस्था अहिले राम्रो रहेको अधिकारीहरुले जानकारी दिएका छन् । गर्भवती ती महिलालाई पछाडपट्टी तल्लो भागमा गोली लागेको थियो । घाइते भएपछि उनलाई सेनाको हेलिकोप्टरमार्फत् तत्काल अस्पताल लगिएको थियो । सन्जुवान सैन्य कार्यालयमा भारतीय सुरक्षाकर्मी र लडाकूहरुकाबीचमा झडप हुँदा ती गर्भवती महिलालाई गोली लागेको थियो । ती महिलालाई अस्पतालमा तत्काल भर्ना गरेर बच्चा जन्माउनका लागि आवश्यक औषधि दिइएको थियो । बच्चा जन्मिएपछि मात्र उनको चोटको उपचार सुरु गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । सो घटनामा परी तीन जना लडाकू र दुई जना भारतीय सुरक्षाकर्मीहरु मारिएका भारतीय सैन्य स्रोतले थप जानकारी दिएको छ ।- रासस/सिन्ह्वा