गैंडाकोटमा गैंडा आतंक

२०७५ बैशाख २२ गते, शनिबार

काठमाडौं, २२ बैशाख । पूर्वी नवलपरासीको गैंडाकोटमा गैंडाले आतंक मच्याएको छ । किसान गैंडाको आतंकले आजित भएका छन् । उनीहरुले रात दिन गैंडाको त्रासमा बाँच्नुपरेको गुनासो गर्छन । चितवन राष्ट्रिय निकुञ्जबाट आएका गैंडाले किसानले लगाएको मकै, उखु, केरा, तरकारीलगायतका बालीमा क्षति पुर्‍याउने गरेका छन् । गैंडाकोटलाई मकैको पकेट क्षेत्रको रुपमा स्थापित गर्ने उद्देश्यले मकै खेती सुरु गरेको किसान अव गैंडा आतंकका कारण विस्तापित हुनुपर्ने अवस्था आएको बताउँछन् । निकुञ्जबाट आएका गैंडाले किसानले लगाएको वाली खाएर नष्ट गर्ने गरेका छन् ।
रातीको समयमा ४/५ वटा गैंडा एकैसाथ गाउँमा पस्ने गरेका छन् । गैंडा धपाउन यहाँका बासिन्दा रातदिन समूह बनाएर बस्ने गरेका छन् । गैंडाको आतंकबाट सबैभन्दा बढी गैंडाकोटको वडा नं. ६, ७, ८ र ९ का बासिन्दा प्रभावित छन् । गैंडा नियन्त्रणका लागि नगरपालिकालगायत सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दा पनि सुनुवाई नभएको स्थानीयको गुनासो छ । नगरपालिकाले भने गैंडा नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु