गुण्डाराजको मारमा बोद्धिचित्त किसान

२०७३ श्रावण १२ गते, बुधबार

काठमाडौं, ११ साउन । नेकपा माओवादी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयम् सेवकले स्थानीय गुण्डाहरुले ज्यादातिबाट विस्थापित काभ्रेका बोद्धिचित्त किसानहरुको पुनस्थापना कार्यक्रम अगाडि बढाएको बताएको छ ।
मंगलबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा संगठनको पूर्वी ताम्सालिङ ब्यूरोले गुण्डापीडित बोद्धिचित्त किसानहरुको उपस्थितिमा एक पत्रकार सम्मेलन आयोजना सो कुरा बताएको हो ।
पत्रकार सम्मेलनमा ब्यूरो कार्यालयका जन्जिरले विस्थापित किसानहरुको सुरक्षा र पुनस्थपनाको जिम्मा सरकारले तत्काल गनुपर्ने बताए । स्थानीय व्यापारीको गलत रवैया र गुण्डाहरुद्वारा किसानहरुको उठिवास लगाएको भन्दै उनीहरुको सुरक्षाको जिम्मा सरकारले नलिए संगठन अगाडि बढ्न बाध्य हुने उनले बताए ।
‘यदि विस्थापितहरुलाई पुनस्थापित गरिँदैन, गल्तीको स्वीकार गरिँदैन, यहाँका किसानहरुलाई उचित मुल्य दिँइदैन, सुरक्षाको प्रत्याभुति गरिँदैन र प्रशासनले उल्टै जनतामाथि दमन गर्ने अनि गुन्डाहरुको सहायतामा स्थानीय जनतामाझ अराजकता र गुण्डाराज मच्चाउने मुर्खता गरियो भने हामी नयाँ ढंगले प्रतिरोध संघर्षमा जान बाध्य हुनेछौं’ जन्जिरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
गत असार ५ गते काभ्रे सिपाली–७ का बोद्धिचित्त किसान तिलक लामासहित दुई घर परिवारलाई स्थानीय गुण्डाहरुले ज्यान मार्ने धम्की दिएपछि विस्थापित भएका छन् । पत्रकार सम्मेलनमा उपस्थित पीडित विष्णुमाया लामाले वाङ लामाको समूहले आफूमाथि आक्रमण गरेको उनले बताइन् । ‘तीस पैंतिस जनाको समूहले मेरो कन्चटमा पेस्तोल राखेर मार्न खोजे । १५ वर्षीया छोरी र ११ वर्षीया भान्जीसहित तीन दिनसम्म जंगल बसेँ, त्यसपछि आफन्तको सहयोगमा काठमाडौं आएँ’ उनले भनिन् ।
गुण्डाहरुको समूहले घरमा रहेको आठ लाख रुपैयाँ नगद लुटनुका साथै बोद्धिचित्तको रुख काटेको विष्णुमायाले बताइन् ।
त्यस्तै अर्का पीडित निरबहादुर तामाङका बुबा, आमामाथि पनि गुण्डाहरुले आक्रमण गरी ज्यान मार्ने धम्की दिएपछि विस्थापित भएका छन् । निरबहादुरका परिवारलाई गुण्डाहरुले अघिल्लो वर्ष बिक्री गरिएको एक करोड ५० लाख नदिएको पत्रकार सम्मेलनमा उनले बताए । अघिल्लो वर्ष गुण्डाहरुले निरबहादुरलाई अपहरण गरी जबर्जस्त रुपमा ८० लाख रुपैयाँ लिएको कागजमा हस्ताक्षर गर्न लगाएका थिए । परिवारमाथि अन्याय गर्दा समेत स्थानीय प्रशासनले बेवास्ता गरेको उनीहरुको आरोप छ ।
यो वर्ष पनि तिनै गुण्डा समूहले बोद्धिचित्त पैसा नदिई जबर्जस्त कब्जा गर्न खोजेपछि निरबहादुर परिवारलाई ज्यान लिने धम्की दिन नछाडेपछि उनीहरुले छाडेका हुन् ।
‘पोहोर साल मेरो छोरा निरबहादुरलाई गुण्डाहरुले अपहरण गरेर ज्यादै कम मूल्यमा दिएको कागजमा हस्ताक्षर गर्न लगाए’ पत्रकार सम्मेलन निरबहादुरकी आमा ठकुरानी तामाङले भनिन् ‘नलिएको ८० लाख रुपैयाँ लिएको भनी औंठाछाप गर्न लगाए ।’
निरबहादुर बुबा बिरबहादुर तामाङले आफ्नो बारीको बोद्धिचित्त गुण्डाहरुको डर, धम्की र खटनका कारण आफूले स्वतन्त्रपूर्वक बेच्न नपाएको भन्दै आफ्नो मालको सुरक्षाको लागि नेकपा माओवादीसँग आग्रह गरेको बताए । प्रहरीले समेत आफूहरुको कुरा नसुनेको गुनासा बिरबहादुरले गरे ।
राष्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रीय सचिव केशब पौडेलले किसानले आफ्नो बारीमा लगाएको वस्तुको उपभोग आफैंले गर्नु पाउनुपर्ने बताए । ‘जनताको ज्यान र सम्पत्तिको सुरक्षा राज्यले गर्नुपर्छ । यो कुरा तिमाल क्षेत्रमा भएको छैन’ पौडेलले अगाडि भने ‘कि त सरकारले तिमाल क्षेत्रका बोद्धिचित्त किसानमाथि भइरहेको गुण्डाराजको अन्त्य गर्नुपर्छ । यदि सरकारले गरेन भने हामी सुरक्षाका लागि त्यो क्षेत्रमा जान बाध्य हुनेछौं ।’
यस बिषयमा नेकपा माओवादी पूर्वी तामासालिङ ब्यूरो कार्यालयका जन्जिरले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ यस प्रकार रहेको छ – “गत असार ५ गते सिपाली–७ का हाम्रो पार्टीका स्थानीय कार्यकर्ता तिलक लामाको घरमा गुन्डा नाइके वाङ्ग लामाको ग्याङले आक्रमण गरी क्षति पुर्याएको छ । ग्याङले ज्यान मार्ने धम्की दिएपछि तिलक लामाको पूरै परिवार विस्थापित हुन पुगेको छ । साथै स्थानीय ठकुरानी तामाङसँग बहुमूल्य बोद्धिचित्तको बोट भएको र उक्त बोट हुनु नै अभिषाप जस्तो हुन पुगेको छ । उनले बोटमा फलेको बुद्धिचित्तको उचित मूल्य नपाई सधैं मर्का व्यहोर्नु परिरहेको अवस्थामा उनले हाम्रो गौरवशाली पार्टी नेकपा माओवादीमा उजुरी दिएकी थिइन् ।
तर त्यही विषयलाई लिएर गुण्डाहरुले ज्यान मार्नेसम्मको धम्की दिएपछि उनको परिवार पूर्ण रुपमा विस्थापित हुन पुगेको छ । वास्तवमा काभ्रेको तिमाल क्षेत्रमा बुद्धचित्त मालाको विषयलाई लिएर गुन्डाराज जारी छ । स्थानीय जनता गुन्डाहरुको अत्याचार सहन बाध्य छन् । यस्तो अवस्थामा पनि स्थानीय प्रहरी प्रशासन मुकर्दशक र निरीह जस्तै भएको देखिन्छ । यो स्थितिमा जनताको सच्चा प्रतिनिधि हाम्रो पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयम् सेवक चुप लागेर बस्न सक्दैन । त्यसैले तिमाल क्षेत्रका स्थानीय जनतामाथि भइरहेको अत्याचार र गुन्डाराजबारे संगठनको ध्यानाकर्षण भएको छ । यसबारे हाम्रो धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति प्रेषित गरिएको छ ।
१) सर्वप्रथम विस्थापित तिलक लामा र ठकुरानी तामाङको परिवारलाई सुरक्षाको प्रत्याभूति दिलाई पुनस्थापना गर्न स्थानीय प्रशासनसँग जोडदार माग गर्दछौ । साथै बिनाकारण उनीहरुको घरमा आक्रमण गरी क्षति पुर्याई विस्थापित गराउने अनि ठकुरानी तामाङको छोरा अपहरण गरी जबरजस्ती जाली कागज बनाई रुख कव्जामा लिई उनको अधिकार खोस्ने र सम्झौतानुसार मूल्य नदिने र आफ्नो अधिकार माग्दा उल्टै ज्यान मार्ने धम्की दिई विस्थापित गराउने सत्यमान लामा र वाङ्ग लामाले सम्बन्धित पिडीतहरुसँग माफी मागी मेलमिलाप गर्न अपिल गर्दछौं ।
२) तिमाल क्षेत्रमा पाईने बहुमूल्य बोद्धिचित्तका वास्तविक मालिक किसानहरुबाट उनीहरुको आफ्नै रुखको अधिकार खोस्ने गुन्डाहरु जबरजस्ती उनीहरुलाई कम मुल्यमा सम्झौता गर्न बाध्य वनाउने, किसानले आफ्नो रुखको आफै मुल्यांकन गर्न नपाउने, सम्झौता अनुसार मुल्य पनि नदिने, आदेश नमाने कुटपिट गर्ने, चेलीबेटीको इज्जत लुट्ने र सुरक्षित वातावरणमा व्यपार गर्न नसकिने जस्ता परिस्थितिको सिर्जना गरी गुन्डाहरुले एकाधिकार कायम गरिरहेका छन् । गुन्डागर्दीका नेतृत्व गर्नेमा स्थानीय वाङ्ग लामा, धावा लामा, खड्क लामा र सत्यमान लामा रहेका छन ।
३) सबैभन्दा पहिले किसानहरुले आफ्नो बोद्धिचित्त मालाको आफै मालिक भएर मुल्यांकन गरी सुरक्षित वातावरणमा व्यपार गर्न पाउनुपर्छ । किसानहरुले आफ्नो मालाको उचित मुल्य पाउनुपर्छ । कम्तिमा निर्भयकासाथ सम्झौताको गरेको मुल्य त पाउनुपर्छ । यसको लागि गुन्डाराज मुख्य समस्या बनेको छ । यो समस्या हल गर्न स्थानीय प्रहरी प्रशासन जनताको साथमा उभिनुपर्छ । त्यसमा हाम्रो पुरा सहयोग र साथ रहनेछ । अबदेखि किसानको अधिकार रक्षाको लागि हामी पुरै शक्तिका साथ जनताको साथमा रहनेछौ ।
४) वास्तवमा आजको समाजमा गुण्डाराजहरु राज्यले जन्माउँछ र उनीहरुलाई राजनैतिक संरक्षण गरिन्छ, अनि नियन्त्रण गर्न नसकेकोमा प्रशासनलाई दोषारोपण गरिन्छ । काभ्रेमा गुण्डागर्दी गर्ने पृष्ठभूमिका भएका केही मानिसहरु राजनीतिमा छिरेका छन् र राजनैतिक संरक्षणसहित तीनै गुण्डाहरुले गुण्डाराजलाई प्रोत्साहित गरिरहेका छन् । गुण्डाराजलाई संरक्षण गर्ने राजनीति र यसको नेतृत्वको अन्त्य गर्न हाम्रो पार्टी नेकपा माओवादी कटिवद्ध छ । किनकि यस्तो किसिमको राजनीतिको अन्त्य नभई गुण्डाराजको अन्त्य हुन सक्दैन ।
५) यदि विस्थापितहरुलाई पुनस्थापित गरिँदैन, गल्तीको स्वीकार गरिँदैन, यहाँका किसानहरुलाई उचित मुल्य दिँइदैन, सुरक्षाको प्रत्याभुति गरिँदैन र प्रशासनले उल्टै जनतामाथि दमन गर्ने अनि गुन्डाहरुको सहायतामा स्थानीय जनतामाझ अराजकता र गुण्डाराज मच्चाउने मुर्खता गरियो भने हामी नयाँ ढंगले प्रतिरोध संघर्षमा जान बाध्य हुनेछौ । जसबाट पैदा हुने सबै परिणामको जिम्मेवार सम्वन्धित पक्ष स्वयम् हुनपर्नेछ ।
अन्तमा, माओवादी ज्युँदो छ, जनताको अधिकारको लडाई लड्न प्रतिवद्ध छ र गुण्डाराज र दमनविरुद्धको त्यो लडाई अन्तिमसम्म जारी रहनेछ । यही प्रकृयाका बीचमा हाम्रा साथीहरु जेलभित्र कैद जीवन बिताउन बाध्य पारिएका छन् । तर हाम्रो संघर्ष जारी छ । यो संघर्षमा साथ दिन युवाहरुलाई विषेश अपिल गर्दछौं । किनकि बेरोजगार तमाम युवाहरु जो अहिले गुण्डाहरुको पछि लाग्न बाध्य छन् । उनीहरुप्रति हाम्रो कुनै आग्रह, पूर्वाग्रह छैन । हाम्रो संगठनले जारी राखेको जनताको सेवा अभियान नै नयाँ रोजगार हुनेछ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ४ दशमलव ७८ अंकले वृद्धि

२०८० चैत्र १५ गते, बिहीबार

२३ कम्पनी कालोसूचीमा

२०८० चैत्र १४ गते, बुधबार

नेप्से १० दशमलव १४ अंकले वृद्धि

२०८० चैत्र १३ गते, मंगलवार