गिरफ्तार युवालाइ जनताले सुरक्षाकर्मीबाटै खोसे

२०७४ मंसिर ७ गते, बिहीबार

काठमाडौं, मंसिर ७ । कालिकोटको माल्कोटस्थित सल्लारुखमा सुरक्षाकर्मीले ब्यापक दम सुरु गरेको छ । सल्लारुखका जनताले चुनाब खारेजको पक्षमा मत जाहेर गर्दै , घर घरमा हसिया हथौडा अंकित झण्डा राखपछि सेना प्रहरीको टोलीले गाँउमा नै पसेर स्थानीय जनतामाथि दम गर्न थालेको हो ।
आज साझ सुरक्षाकर्मीले जनताको घरमा राखेका झण्डा निकालेर जलाउनुका साथै गाउँमा व्यापक खानतलासी गरेको थियो । त्यसकै प्रतिवादमा स्थानीय जनता उत्रेपछि
प्रहरीले गाउँ घेरा हालेर तीन जना युवाहरुलाई गिरफ्तार गरेर लगेको थियो ।
स्थानीय युवा बुद्धि विक, धनराज विक र बिन्द बिक लाई गिरफ्तार गरेर गरेपछि स्थानीयले नन्दादेवी मावि सेरापाटाबाट नै फिर्ता लगेका छन् ।
युवालाई गिरफ्तार गरेपछि स्थानीय प्रहरी चौकि पुगेका थिए । सो क्रममा झडप समेत भएको छ । मालकोटको सल्लारुख गाउँ घेरा हालेर उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।
अहिले पनि सेना, प्रहरीले गाँउलाई घेरा हालेको स्थानीयले बताएका छन् । अझै खानतलासि र दमन गर्ने प्रयास जारी राखेको उनीहरु बताउछन् ।
संबिधान प्रदत्त शान्तिपूर्ण रुपमा बिरोध जनाउन पाउने जनताको मौलिक हकको खिल्लि उडाउदै आफुलाई लोकतन्त्रबादी ठान्ने सरकारको यो घटनापछि चरित्र उदागो भएको स्थानीय जनताको भनाई छ ।
मालकोट गाउँ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डको गाउँ हो । साथै सेरापाटामा रहेको नन्दादेवी माविमै गत स्थानीय निर्वाचनमा पनि प्रहरी र स्थानीयबीच झडप भएको थियो । सो क्रममा स्थानीयले मतदान भइसकेर राखिएका सबै मतपेटिका जलाइदिएका थिए । सो क्रममा १ जनाको मृत्यु समेत भएको थियो ।

यसअघि कालिकोटमै प्रधानमन्त्री शेरबहादुर देउवामाथि आज दिउसो वम प्रहार भएको थियो । कोटवाडा एअरपोर्टमा आयोजित कार्यक्रममा पुगेका प्रम देउवालाई लक्षित गरी वम प्रहार भएको थियो । हेलिकोप्टरबाट कालिकोट पुगेका प्रम देउवा वम प्रहार भएपछि पाँच मिनेट मात्र सम्वोधन गरेर फर्केका थिए । वम प्रम देउवा चढेको हेलिकोप्टर ल्याण्ड भएको ठाउँदेखि ३० मिटर टाढा विष्फोट भएको बताइएको छ ।
दिउसो सो घटना भएपछि आज साँझ प्रहरीले मालकोटको सल्लारुख गाउँमा व्यापक खानतलासी गरेको थियो ।
आजै कालिकोटको भर्तामा निर्वाचन टोलीमाथि अवरोध गरिएको थियो । भर्ताको टाटी गाउँको भिरालो बाटो हुँदै निर्वाचन सामाग्री बोकेर जान लागेको टोलीलाई लक्षित गरी ढुंगामुढा भएको थियो । भिरालो ठाउँमा माथिबाट ढुंगा मुढा भएपछि निर्वाचन टोली पछाडि हटेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु