‘ गिरफ्तार पत्रकारलाई तत्काल रिहाइ गर ‘

२०७४ जेष्ठ ४ गते, बिहीबार

काठमाडौं, ४ जेठ । नेपाल पत्रकार महासंघले गिरफ्तार पत्रकारलाई तत्काल रिहाइ गर्न माग गरेको छ । महासंघले सरकारले पत्रकारलाई अन्धुन्दा पक्राउ गरेको घटनाप्रति आपत्ति समेत जनाएको छ । मंगलबार काठमाडौंको असनबाट जनपाटी अनलाइनका सम्पादक सुदर्शन मंगोल र गोरखाको हर्मटारी बजारबाट नेटपत्रिका डटकमका सम्पादक तथा जनता टिलिभिजनका संवाददाता विकास भट्टराईलाई अनाहकमा पक्राउ गरी थुनामा राखेको भन्दै भत्र्सना गरेको छ ।
महासंघका महासचिव उजिर मगरले बुधबार एक विज्ञप्ति प्रकाशित गरी पत्रकारद्वायलाई समाचार संकलनका क्रममा प्रहरीले गरेको पक्राउ घटनाले महासंघको ध्यानाकर्षण भएको जनाउँदै कडा शब्दमा भत्र्सना गरेका छन् । विज्ञप्तिमा भनिएको छ– ‘महासंघ ललितपुर शाखाका अनुसार पत्रकार भट्टराईलाई जेठ २ गते गोरखाको सदरमुकाममा समाचार संकलनका क्रममा कार्यक्षेत्रमा खटिएको अवस्थामा पक्राउ गरिएको थियो भने सोही दिन पत्रकार मंगोललाई पनि काठमाडौंको असनबाट पक्राउ गरिएको थियो ।’
नागरिकलाई सूचना सम्प्रेषण गरिरहेका पत्रकारलाई पक्राउ गरेर सरकारले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन् । ‘नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ उक्त कार्यको कडा शब्दमा भत्र्सना गर्दछ ।’
भट्टराई र मंगोललगायत देशभर गिरफ्तार सम्पूर्ण पत्रकारलाई तत्काल रिहा गर्न महासचिव मगरले जोडदार माग गरेका छन् । ‘पक्राउ परेका पत्रकारद्वय लगायत यस अवधिमा पक्राउ गरिएका सबै पत्रकारलाई तत्काल रिहाइ गर्न सरकारसँग जोडदार माग गर्दछ’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु