गिरफ्तार नेता तुरुन्त रिहा नगरिए जनप्रतिनिधिलाई गिरफ्तार गर्ने चेतवानी

२०७५ मंसिर २७ गते, बिहीबार

काठमाडौं, २७ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको झापा जिल्ला नेता चमनलाल माझीलाई बुधबार दिउँसो प्रहरीले गिरफ्तार गरेको छ । मजदुरमाझ् चर्चित रहेका नेता माझीलाई पार्टी कामको सिलसिलामा रहेका बेला झापाबाट गिरफ्तार गरिएको नेकपा झापाका सेक्रेटरी सुमन सिंहले एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । पार्टीको काममा रहेकै बेला बिनाकारण प्रहरीले गिरफ्तार गरी बेपत्ता पारेको भन्दै सेक्रेटरी सिंहले गिरफ्तारीको भत्सर्ना गरेका छन् । उनले वर्तामान केपी ओली नेतृत्वको सरकारलाई दलाल पूँजीवादी संसदीय व्यवस्थाको कठपुतली सरकारको संज्ञा दिँदै नेता माझीलाई बिनासर्त तुरुन्त रिहा गर्न सरकारसँग माग गरेका छन् ।
नेकपाको जनपक्षीय कार्यक्रम देखेर सरकार अत्तालिएको र बदलामा नेकपाका नेता कार्यकर्तामाथि राजनीतिक कार्यक्रम चलाइरहेका बेला समेत दमन र हस्तक्षेप गरी नेता माझीलाई झापा गाउँपालिकाबाट आज दिउँसो गिरफ्तार गरेको उल्लेख गर्दै सरकारले कायरतापूर्ण हर्कत अपनाएको जनाएका छन् । सरकार जनताबाट कटेर नाङ्गेझार भएको समेत नेकपा झापाको निस्कर्ष छ । साथै गिरफ्तार नेता माझीलाई निसर्तरुपमा तत्काल रिहा नगरेमा जनप्रतिनिधिलाई गिरफ्तार गर्ने चेतावनी विज्ञप्तिमा सेक्रेटरी सुमनले दिएका छन् । ‘आज पक्राउ परेका हाम्रो पार्टीका जिल्ला कमिटी सदस्य चमनलाल माझीलाई बिनासर्त तुरुन्त रिहा गरियोस्’ विज्ञप्तिमा भनिएको छ ‘अन्यथा, हामी दलालहरुका जाप्रतिनिधिहरुको पनि गिरफ्तारी शुरु गर्ने विषय यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।’ आफ्ना नेता कार्यकर्ताको गिरफ्तारीको विषयलाई लिएर नेकपाले जनप्रतिनिधिलाई गिरफ्तार गरेर बदला लिने चेतावनी लिखितरुपमा दिएको सम्भवतः यो नै पहिलो हो ।
सरकारले गठन भएको कालदेखि नै नेकपामाथि निगरानी, दमन र हस्तक्षेप अनि गिरफ्तारको श्रृंखला चलाउँदै आएको छ । यसमा नेकपाले सरकारले यसलाई नरोके प्रतिवाद-प्रतिरोध संघर्ष चलाउन बाध्य हुने भन्दै निरन्तर चेतावनी दिँदै आइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु